बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म 'पठान' ले भारतसँगै नेपालमा पनि राम्रो कमाइ गरिरहेको छ।
नेपालमा वितरक मनोज राठीका अनुसार फिल्मले एक सातामा नेपालबाट ६ करोड रूपैयाँ कमाएको छ। फिल्मले अझै दर्शकको राम्रो साथ पाइरहेको छ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले एक सातामा भारतबाट ३९५ करोड भारू कमाएको छ भने अन्य देशबाट २३९ करोड कमाएको छ।
फिल्मले एकसातामा विश्वभरबाट ६३४ करोड भारू कमाएको हो।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्।
शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दीपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।