बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'पठान' सबभन्दा छिटो ४ सय करोड भारू कमाउने हिन्दी फिल्म बनेको छ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले भारतीय बक्स अफिसमा १२ दिनमा ४ सय करोड भारू कमाएको हो। भारतमा फिल्मले ४०१ करोड ४० लाख भारू कमाएको छ।
४ सय करोड कमाउन 'बाहुबली २' को हिन्दी संस्करणलाई १५ दिन लागेको थियो भने 'केजिएफ २' को हिन्दी संस्करणलाई २३ दिन लागेको थियो।
फिल्मले नेपाली बक्स अफिसमा समेत राम्रो व्यापार गरिरहेको छ। तर नेपालको कमाइ सार्वजनिक भइसकेको छैन। फिल्मले नेपाली बक्स अफिसमा १ सातामा ६ करोड कमाएको छ।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खानसँगै दीपिका पादुकोण, जोन अब्राहमको मुख्य भूमिका छ भने सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत् शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्।
शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दीपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।