अभिनेत्री श्रीदेवीको जीवनी प्रकाशन हुने भएको छ।
निर्माता बोनी कपुरले श्रीदेवीको जीवनी प्रकाशनको तयारी भइरहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा पुस्तकको नाम सार्वजनिक गर्दै प्रकाशनको घोषणा गरेका हुन्। उनका अनुसार पुस्तकको नाम ‘द लाइफ अफ ए लिजेन्ड’ राखिनेछ।
‘श्रीदेवी प्रकृतिको शक्ति थिइन्। उनी आफ्नो कला पर्दामा आफ्ना फ्यानहरूलाई देखाउन पाउँदा खुशी हुन्थिन् तर व्यक्तिगत जीवनमा लजालु थिइन्,’ उनले लेखेका छन्।
भारतीय सञ्चार माध्यम कोइमोइका अनुसार पुस्तकको लेखन श्रीदेवीको पारिवारिक सदस्य धिरज कुमारले लेखेका हुन्।
सन् २०१८ मा उनको हृदयघातका कारण मृत्यु भएको थियो। उनी ५४ वर्षकी थिइन्।
श्री अम्मा एङ्गर अयप्पन श्रीदेवी खास नाम भएकी उनले बलिउड प्रवेश गर्नुअघि तमिल, तेलेगु, मलयालम तथा कन्नड भाषाका फिल्ममा काम गर्थिन्। सन् १९७५ मा बलिउडमा बाल कलाकारका रूपमा प्रवेश गरेकी श्रीदेवी १३ वर्षको उमेरमा तमिल भाषाको ‘मुनरूदु मुडिचु’ फिल्म व्यस्क भूमिकामा काम गरेकी थिइन्। श्रीदेवी भारतकी सर्वाधिक ठूलो महिला स्टार मध्येकी एक हुन्।
‘सद्मा’, ‘चाँदनी’, ‘हिम्मतवाला’, ‘चालबाज’, ‘मिस्टर इन्डिया’, ‘मवाली’, ‘तोह्फा’ तथा ‘गुमराह’ जस्ता फिल्मका लागि चर्चित थिइन्। ‘जुदाई’ मा काम गरेपछि उनले करिब १५ वर्ष अभिनयबाट ब्रेक लिएकी श्रीदेवी सन् २०१२ मा सबैको मन जित्दै ‘इङ्लिस भिङ्लिस’ बाट अभिनयमा फर्केकी थिइन्। अन्तिम पटक उनले ‘मम’ फिल्ममा काम गरेकी थिइन्।
उनले हिन्दीसँगै तमिल, तेलुगु, मलायलम, कन्नड गरी ३ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी छन्।
श्रीदेवीका जान्हवी तथा खुशी गरी दुई छोरी छन्।