बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी र उनकी श्रीमती आलियाबीचको विवाद चर्किंदै गएको छ।
यसैबीच १० फेब्रुअरीमा आलियाले इन्स्टाग्राममा एक भिडिओ सेयर गर्दै भनेकी छन्, ‘मैले यस्तो व्यक्तिलाई आफ्नो जीवनको १८ वर्ष दिएकोमा पछुतो लागिरहेको छ जसको आँखामा मेरो लागि कुनै सम्मान छैन।’
उक्त भिडिओमा आलिया घरभित्र छिन् भने नवाज घर बाहिर छन्। आलियाले नवाजलाई आफ्नै घरबाट बाहिर निकालेकी छन्। उनी यसअघि दुबईमा दुई छोराहरूका साथमा बस्दै आएकी थिइन्।
आलियाले नवाजविरूद्ध उच्च अदालतमा रिट दायर गरेकी छन्। जहाँ उनले छोरा र नवाजको डिएनए परीक्षण गराउन माग गरेकी छन्।
यसअघि नवाजकी आमाले आफ्नो बुहारी आलियाविरूद्ध एफआइआर दर्ता गरेकी थिइन्। नवाजकी आमाले बच्चा आफ्नो छोराको नभएको भन्दै एफआइआर दर्ता गरेकी हुन्। यसको जवाफमा आलियाले नवाज र उनको परिवारमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।
नवाज र आलियाको भेट सन् २००४ मा भएको थियो। केही समयपछि उनीहरू लिभिङ टुगेदरमा बसेका थिए। आलियाका अनुसार उनी, नवाज र नवाजका भाइ शमसुद्दिन एकै कोठामा बस्थे।
उनीहरूले सन् २०१० मा विवाह गरेका थिए। विवाहको एक वर्षपछि उनले छोरालाई जन्म दिएकी थिइन्।
आलियाले आफू गर्भवती हुँदा आमाले दिएकी फ्ल्याट बेचेको बताएकी छन्।
‘नवाजलाई बसबाट यात्रा गर्न नपरोस् भनेर मैले फ्ल्याट बेचेको पैसाले एक कार उपहार दिएकी थिएँ। अब उनी पूरै परिवर्तन भइसके। उनले सधैं आफ्नो पूर्वप्रेमिका र पूर्वपत्नीको अपमान गरेका छन्। अब मेरो अपमान गरिरहेका छन्। साथै मेरो छोरालाई पनि निशाना बनाइरहेका छन्,’ उनले भनिन्।
नवाजको वकिलका अनुसार आलियाले आफ्नो पहिलो श्रीमान् विनय भार्गवसँग सम्बन्धविच्छेद गरेकी छैनन्।
सन् १९९९ मा ‘सरफरोश’ र ‘शूल’ जस्ता फिल्ममा सानो भूमिकाबाट बलिउड प्रवेश गरेका नवाजले एक दशकसम्म साना भूमिकामै अभिनय गरेर चित्त बुझाउनु परेको थियो।
बलिउड ‘हिरो’ मा हुने सुन्दर अनुहार, सुगठित शरीर, नाच्न जान्ने केही गुण नभएका उनलाई बलिउडमा स्थापित हुने लामो समय लाग्यो।
सन् २०१० मा ‘पिप्ली लाइभ’ र २०११ मा ‘पतंगः द काइट’ जस्ता फिल्ममा उनी अलि लामा भूमिकामा देखिए। सन् २०११ मा ‘देख इन्डियन सर्कस’ फिल्मले उनलाई उत्कृष्ट अभिनेताको पुरस्कार दिलायो।
सन् २०१२ को ‘तलाश’, ‘कहानी’ र ‘ग्यांग्स अफ वासेपुर’ जस्ता फिल्मले उनको करिअरलाई नै नयाँ उचाइ दियो।
त्यसपछिका वर्षमा अभिनय गरेका धेरै फिल्मले उनी निरन्तर निर्देशक, दर्शक र समीक्षकहरूको मन जित्न सफल छन्। देशभित्र र बाहिरका धेरै फिल्म महोत्सवमा उनको अभिनयको तारिफ भइरहेको छ।