बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म 'पठान' ले भारतमा ५ सय करोड कमाइ गरेको छ।
भारतीय बजार विश्लेषक तरण आदर्शका अनुसार भारतबाट फिल्मले २२ दिनमा ५ सय करोड कमाएको हो।
फिल्मले भारतबाट ५०२ करोड ३५ लाख भारू कमाएको छ। बुधबार ३ करोड ५० लाख कमाउँदै फिल्म ५ सय करोड क्लबमा समावेश भएको हो।
यशराज फिल्म्स ब्यानरको फिल्मले विश्वभरबाट ९७० करोड भारू कमाएको छ। योसँगै फिल्मले छिट्टै हजार करोड कमाउने अनुमान गरिएको छ।
जनवरी २५ मा प्रदर्शन भएको फिल्मले दर्शकको साथ पाउनुको साथै समीक्षकले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए।
यो फिल्मले रिलिज भएदेखि नै नयाँ-नयाँ रेकर्ड राख्दै आएको छ।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्।
शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दिपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्।
निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।