बलिउड अभिनेत्री स्वरा भास्करले बिहे गरेकी छन्।
उनले समाजवादी पार्टीका युवा नेता फहाद अहमदसँग बिहे गरेकी हुन्।
उनले ट्विटरमा भिडिओ राख्दै यसबारे जानकारी दिएकी हुन्। स्वराले सन् यही वर्ष जनवरी २३ मा बिहे दर्ता गरेकी थिइन्।
स्वरा फिल्ममा आउनुअघि नाटकमा काम गर्थिन्। सन् २००९ मा उनले 'माधोलाल कीप वकिङ' बाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी हुन्। यो फिल्म सफल हुन सकेन। त्यसपछि उनले सञ्जय लीला भन्सालीको फिल्म 'गुजारिश' मा ऋतिक रोशन र ऐश्वर्या रायका साथमा सहायक भूमिका निर्वाह गरेकी थिइन्।
उनले फिल्ममा पहिलो सफलता भने 'रांझना' बाट पाएकी हुन्। सोनम कपुर र धनुषको मुख्य भूमिका रहेको यो फिल्ममा उनी सहायक भूमिकामा थिइन्। यही फिल्मबाट उनले फिल्मफेयरको उत्कृष्ट सहायक अभिनेत्री अवार्ड पनि पाएकी थिइन्।
यसपछि उनले आर माधवन र कंगना रनावतको मुख्य भूमिका रहेको 'तनु वेड्स मनु' र सलमान खान र सोनम कपुरको 'प्रेम रतन धन पायो' मा सहायक भूमिकामै काम गरिन्। दुवै फिल्म सफल भए।
पछिल्लो समय उनी करिना कपुर र सोनम कपुरसँगै 'वीरे दी वेडिङ' मा देखिएकी थिइन्।
विशेषगरी सहायक भूमिकामा जमेकी उनी राम्रो अभिनय गर्ने अभिनेत्री मानिन्छिन्।
स्वरा नरेन्द्र मोदी सरकारविरूद्ध खरो रूपमा आवाज उठाउने अभिनेत्रीका रूपमा पनि चिनिन्छिन्।