बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'पठान' ले विश्वभरबाट एक हजार करोड कमाएको छ।
यशराज ब्यानरका अनुसार फिल्मले विश्वभरबाट २८ दिनमा एक हजार करोड ग्रस कलेक्सन गरेको हो।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार सोमबार फिल्मले भारतमा १ करोड २० लाख भारू कमाएको छ। भारतमा फिल्म २७ दिनमा ५०० करोड क्लबमा समावेश भएको छ। फिल्मले भारतमा ५१६ करोड भारू कमाएको छ।
‘पठान’ सबैभन्दा छिटो पाँच सय करोड भारू कमाउने पहिलो हिन्दी फिल्म बनेको छ।
यसअघि सबैभन्दा धेरै कमाइ गर्ने हिन्दी फिल्म आमिर खानको ‘दंगल’ थियो। यसले भारतमा ३८७ करोड भारू कमाएको थियो।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्।
शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दिपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।