बलिउड अभिनेता अक्षय कुमार यतिबेला आफ्नो फिल्म 'सेल्फी' लाई लिएर चर्चामा छन्।
यो फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा आएको छ। तर अक्षय फिल्मको सफलताको कारण होइन, असफलताका कारण चर्चामा छन्। फिल्मले पहिलो दिन बक्स अफिसमा २ करोड ५५ लाख भारूको कमाइ गरेको छ।
दर्शकहरूले कमाइको आधारमा फिल्मलाई फ्लप बताइरहेका छन्। यसैबीच आजतकसँग कुराकानी गर्दै अक्षयले लगातार आफ्नाे फिल्म फ्लप हुनुकाे कारण बताएका छन्।
'मेरो फिल्म पहिलो पटक फ्लप भएको होइन। मेरो करिअरमा मैले १६ फिल्म फ्लप दिएको छु। एक पटक त मेरो ८ वटा फिल्म लगातार फ्लप भयो,' उनले भने, 'अहिले मेरो तीन/चार वटा फिल्म लगातार फ्लप भएको छ। यो मेरो गल्तीको कारण भएको होला। दर्शक परिवर्तन भइसके, त्यसैले आफूलाई नयाँ तरिकामा ढाल्नुपर्छ।'
उनको पछिल्लो समय फिल्म ‘सूर्यवंशी’ सुपरहिट भएको थियो। यो फिल्मलाई रोहित शेट्टीले निर्देशन गरेका थिए। सन् २०२१ मा प्रदर्शन भएको फिल्ममा कट्रीना कैफ, रणवीर सिंह र अजय देवगनको अभिनय थियो।
'यदि फिल्म चलेन भने दर्शकलाई दोष लगाउनु हुँदैन। फिल्म नचल्नुमा मैरै गल्ती छ। मैले फिल्ममा सही चिज उपयोग गरिनँ,' उनले भने।
अक्षय कुमारको फिल्म 'रक्षा बन्धन, बच्चन पाण्डे, रामसेतु, सम्राट पृथवीराज र सेल्फी' फ्लप भएको छ।