भारत पश्चिम बगांलको वीरभुम जिल्लाका भुवन बडयाकर बदाम बेच्दै हिँड्दा 'कच्चा बदाम' गीत गाउँथे। यसै गीतबाट उनी सन् २०२१ मा भाइरल भए।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको भिडिओ इन्टरनेटमा अपलोड गरेका थिए। उनलाई यो गीत कसले भाइरल गरिदियो भन्ने थाहा छैन। गीत भाइरल भएपछि रिमिक्स गर्दै युट्युबमा अपलोड गरियो।
गीतले युट्युब छोटो समयमै राम्रो भ्युज पायो तर भुवनको जीवनयापनमा खासै फरक परेन। भारतीय सञ्चार माध्यमका अनुसार प्रतिलिपी अधिकार मुद्दाका कारण उनी आफ्नै गीत गाउनबाट वञ्चित भएका छन्।
उनका अनुसार वीरभुमको एक कम्पनीले गीतको प्रतिलिपी अधिकारमा हक जमाएको छ। उनीहरूले परफर्मिङ राइट्स सोसाइटी लिमिटेडको बहाना बनाउँदै भारतमा गीत गाउन दिएका छैनन्।
‘म पढेलेखेको मान्छे होइन। मलाई अंग्रेजी पढ्न आउँदैन। उनीहरूले मेरो गीत किनेको बताएका छन्। फोन सम्पर्क गर्दा पनि उनीहरू सम्पर्कमा आएका छैनन्,’ उनले भने।
'कच्चा बदाम' गीत हिट भएपछि उनले आफू थप समस्यामा परेकाे बताएका छन्।
‘म दुबराजपुरमा भाडाको घरमा बसिरहेको छु। घर भाडा निकै महँगो छ। तर मेरो बदाम बेच्नेबाहेक अन्य आयस्रोत छैन। कहिलेसम्म यस्तै हुने हो थाहा छैन। कच्चा बदाम गीतले मलाई चर्चामा ल्याएपछि म पहिलाकै घरमा बस्ने अवस्था छैन,’ उनले भने।