कमेडीको डोज भनेर चिनिने कपिल शर्मा भारतका महंगा कमेडियन मध्येका एक हुन्।
हाल 'द कपिल शर्मा शो' को चौथो सिजन प्रसारण भइरहेको छ। यसैबीच कपिलको पारिश्रमिक सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यम आजतकका अनुसार उनी एक सिजनमा करिब ५० करोड भारू पारिश्रमिक लिन्छन्।
आजतकले कपिललाई सोधे, ‘तपाई ३ सय करोडको मालिक हो?’
कपिलले हाँस्दै भने, ‘हो, मसँग पैसा त धेरै छ तर एक सीमा पार गरेपछि पैसा नम्बर मात्रै हुन्छ। राम्रो घर, गाडी र परिवार भएपछि पैसा होस् नहोस् केही फरक पर्दैन। म खर्चालु छैन, मेरी श्रीमती गिन्नी पैसा खर्च गर्छिन्। धनाढ्य परिवारबाट भएका कारण गिन्नी बाल्यकालदेखि नै खर्चालु छिन्।’
भारतीय सञ्चार माध्यमका अनुसार ‘द कपिल शर्मा शो' को तेस्रो सिजनमा ८० एपिसोडको उनले ४८ करोड भारू लिएका छन्।
उनले दोस्रो सिजनमा एक एपिसोडको ३० लाख भारू लिन्थे भने पहिलो सिजनमा २० लाख भारू लिन्थे। ‘द कपिल शर्मा शो' का निर्माता बलिउड अभिनेता सलमान खान हुन्।
कपिलले आफ्नो शोको सुरूआत २०१६ मा गरेका थिए।