भारतीय अभिनेता तथा कमेडियन कपिल शर्माको फिल्म 'ज्विगाटो' शुक्रबारदेखि भारतमा प्रर्दशन भइरहेको छ।
दर्शक हँसाएर चर्चा कमाएका कपिल फिल्म ‘ज्विगाटो’ मा गम्भीर भूमिकामा देखिएका छन्। फिल्ममा उनी ज्विगाटो नामक खानेकुरा कम्पनीका डेलिभरी ब्वाइका रूपमा देखिएका छन्।
तर दर्शकले उनलाई गम्भीर भूमिकामा रूचाएनन्। फिल्मले बक्स अफिसमा निकै कमजोर व्यापार गरिरहेको छ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दुई दिनमा १ करोड ५ लाख भारू कमाएको छ।
पहिलो दिन ४३ लाख भारू कमाएको फिल्मले दोस्रो दिन ६२ लाख कमाएको हो। भारतीय फिल्मकर्मीले यो फिल्म फ्लप भएको बताइरहेका छन्।
यसअघि फिल्म टोरेन्टो इन्टरनेशनल फिल्म फेस्टिभल, बुसान इन्टरनेशनल फिल्म फेस्टिभल र इन्टरनेशनल फिल्म फेस्टिभल अफ केरलमा प्रदर्शन गरिएको थियो।
फिल्ममा डेलिभरी गर्ने एक व्यक्तिको कामले अरूको पेट भरेर सन्तुष्टि दिलाए पनि यो भागदौडमा उसको निजी जीन्दगीको सन्तुलन बिग्रिएको कथा देखाइएको छ।
कपिलको मुख्य भूमिका रहेको यो फिल्मको निर्देशन नन्दिता दासले गरेकी हुन्। फिल्ममा कपिलसँग शाहाना गोस्वामीको पनि मुख्य भूमिका छ।
यो कपिलको तेस्रो फिल्म हो। यसअघि उनी फिल्म ‘किस किसको प्यार करूं’ र ‘फिरंगी’ मा देखिएका थिए।