भारतीय फिल्म 'आरआरआर' ले यसपालि अस्करमा ऐतिहासिक रेकर्ड बनायो। एकेडेमी अवार्ड्स पनि भनेर चिनिने अस्करमा आरआरआरको गीत 'नाटु नाटु' ले सर्वोत्कृष्ट गीतको विधामा अवार्ड जितेको हो। भारतीय सिनेमाका लागि यो ठूलो उपलब्धि रह्यो।
एसएस राजामौलीले निर्देशन गरेको फिल्ममा रामचरण, जुनियर एनटिआर, आलिया भट्ट, अजय देवगन लगायतको मुख्य भूमिका छ। फिल्मले एक हजार दुई सय करोड भारूभन्दा धेरै कमाएको छ।
गोल्डेन ग्लोब अवार्ड पनि पाएको आरआरआरको गीत नाटु नाटु अस्करमा छानिएपछि सिनेमाको टिम मात्र होइन, भारतभरि नै खुसियाली छाएको सञ्चारमाध्यमहरूले लेखेका छन्।
अवार्ड थाप्न राजामौलीका साथमा रामचरण र जुनियर एनटिआर पनि पुगेका थिए। उनीहरूसँगै परिवारका केही सदस्य र टिमका केही सदस्य पनि गएको बताइएको छ।
तर अस्करमा उनीहरूलाई सहभागी हुन सित्तैमा टिकट दिइएको थिएन। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार आरआरआर टिम त्यहाँ सहभागी हुनका लागि पैसा खर्चेर टिकट लिइएको थियो। एक सिटका लागि उनीहरूले लाखौं रूपैयाँ खर्च गर्नुपरेको थियो।
अस्कर अवार्डले बताएअनुसार पुरस्कार विजेता र उनीहरूका परिवारको सदस्यका लागि कार्यक्रममा निःशुल्क टिकट पाइन्छ। अरूले भने कार्यक्रम हेर्न टिकट किन्नुपर्छ। यस्तोमा गीतका कम्पोजर एमएम कीरावनी र लेखक चन्द्रबोसका साथमा उनीहरूका श्रीमतीका लागि मात्र टिकट दिइएको थियो।
राजामौली, रामचरण, जुनियर एनटिआरसहित उनीहरूसँग पुगेका अरू सदस्य भने टिकट किनेर कार्यक्रम हेरेका हुन्।
राजामौली आफ्नी श्रीमती, छोरा र बुहारीका साथमा त्यहाँ पुगेका थिए। रामचरण र जुनियर एनटिआर पनि आआफ्ना श्रीमतीका साथमा गएका थिए।
हिन्दुस्तान टाइम्सका अनुसार उनीहरू सबैको टिकटको खर्च राजामौलीले उठाएका हुन्। अस्करको कार्यक्रमको एक सिटका लागि २५ हजार डलर अर्थात् झन्डै ३३ लाख रूपैयाँ तिर्नुपर्छ।
टिकट किनेर जानुपर्ने सदस्यहरूका लागि राजामौलीले सवा करोड रूपैयाँभन्दा धेरै खर्च गरेको बताइएको छ।
आरआरआरको टिम कार्यक्रममा अन्तिमतिरको सिटमा बसेको थियो। यो देखेर भारतीय प्रशंसकहरूले सामाजिक सञ्जालमा आलोचना पनि गरेका थिए।