भारतीय गायक सोनू निगमका बुवा अगम कुमार निगमको घरबाट ७२ लाख भारू चोरी भएको छ।
मुम्बईको अन्धेरी इलाकाबाट ७२ लाख भारू चोरी भएको भारतीय सञ्चारमाध्यम दैनिक जागरणमा उल्लेख छ।
आइतबार अगम आफ्नी छोरी निकिताको घरमा खाना खान गएका थिए। त्यस रात उनको घरको डिजिटल लकरबाट ४० लाख भारू हराएको थियो। अर्का दिन उनको लकरबाट ३२ लाख भारू हराएको हो। १९ र २० मार्चमा चोरी भएको बताइएको छ।
चोरी भएपछि निकिताले प्रहरीलाई खबर गरेकी थिइन्। उनको उजुरीपछि प्रहरीले उनीहरूको घरमा आठ महिनादेखि काम गरिरहेका ड्राइभरलाई पक्राउ गरेको छ।
ड्राइभरले काम राम्रो नगरेको भन्दै अगमले केही दिनअघि मात्रै उनलाई कामबाट हटाएका थिए।
प्रहरीले सिसिटिभी फुटेज जाँच गर्दा उनीहरूको घरमा ड्राइभर आएको देखिएको थियो। ड्राइभरले नक्कली चाबी बनाएर लकरबाट ७२ लाख चोरी गरेको प्रहरीले बताएका छन्।