नवाजुद्दीन सिद्दीकीले पूर्वपत्नी अन्जना पाण्डे (आलिया) र आफ्नो भाइ शमसुद्दीनविरुद्ध मानहानिको मुद्दा हालेका छन्।
उनले आफूमाथि गरिएको भ्रामिक दाबीका कारण मानहानि र उत्पीडनको लागि १०० करोड भारु क्षतिपूर्ति माग गरेका छन्। उनको तर्फबाट सुनिल कुमारले याचिका दायर गरेका हुन्।
भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार यस मुद्दाको सुनवाई ३० मार्चमा हुनेछ।
सन् २००८ मा नवाजका भाइ बेरोजगारी हुँदा उनले आफ्नो प्रबन्धक नियुक्त गरेका थिए। नवाजले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, एटीएम, हस्ताक्षरित चेक बुक, बैंकको पासवर्ड, इमेल सबै भाइलाई दिएका थिए। केही समयपछि उनका भाइले पैसाको हिनामिना गर्न थालेका थिए।
नवाज र आलियाबीच लामो समयदेखि विवाद चलिरहेको छ। आलियाले नवाजविरूद्ध उच्च अदालतमा रिट दायर गरेकी थिइन्। जहाँ उनले छोरा र नवाजको डिएनए परीक्षण गराउन माग गरेकी छन्।
यसअघि नवाजकी आमाले आफ्नो बुहारी आलियाविरूद्ध एफआइआर दर्ता गरेकी थिइन्। नवाजकी आमाले बच्चा आफ्नो छोराको नभएको भन्दै एफआइआर दर्ता गरेकी हुन्। यसको जवाफमा आलियाले नवाज र उनको परिवारमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।
नवाज र आलियाको भेट सन् २००४ मा भएको थियो। केही समयपछि उनीहरू लिभिङ टुगेदरमा बसेका थिए। आलियाका अनुसार उनी, नवाज र नवाजका भाइ शमसुद्दीन एकै कोठामा बस्थे।
नवाज र आलियाले सन् २०१० मा विवाह गरेका थिए। विवाहको एक वर्षपछि उनले छोरालाई जन्म दिएकी थिइन्।