बलिउड अभिनेता अजय देवगनले आफ्नो कारण फिल्म 'आरआरआर' ले अस्कर अवार्ड पाएको बताएका छन्।
अजय र तब्बू आफ्नो आगामी फिल्म 'भोला' को प्रमोशनका लागि 'कपिल शर्मा शो' मा पुगेका थिए। शोको प्रोमो सार्वजनिक भएको छ।
कपिल शर्माले अजयलाई 'आरआरआर' को गीत 'नाटू नाटू' गीतले अस्कर अवार्ड जितेकोमा बधाई दिए। उनले भने, ‘यस फिल्ममा अजय देवगनको निकै राम्रो केमियो भूमिका छ। आफूले अभिनय गरेको फिल्मले अस्कर जित्छ भनेर सोच्नु भएको थियो?’
यस प्रश्नको जवाफमा अजयले भने, ‘आरआरआरले मेरो कारण अस्कर अवार्ड पाएको हो।’
‘कसरी,’ कपिलले भने।
‘यदि मैले त्यो गीतमा नाचेको भए के हुन्थ्यो,’ अजयले मजाक गर्दै भने।
भारतीय फिल्म ‘आरआरआर’ ले यसपालि अस्करमा ऐतिहासिक रेकर्ड बनाएको छ। एकेडेमी अवार्ड्स पनि भनेर चिनिने अस्करमा आरआरआरको गीत ‘नाटु नाटु’ ले सर्वोत्कृष्ट माैलिक गीतको विधामा अवार्ड जितेको हो। भारतीय सिनेमाका लागि यो ठूलो उपलब्धि रह्यो।
एसएस राजामौलीले निर्देशन गरेको फिल्ममा रामचरण, जुनियर एनटिआर, आलिया भट्ट, अजय देवगन लगायतको मुख्य भूमिका छ। फिल्मले एक हजार दुई सय करोड भारूभन्दा धेरै कमाएको छ।
अवार्ड थाप्न राजामौलीका साथमा रामचरण र जुनियर एनटिआर पनि पुगेका थिए। उनीहरूसँगै परिवारका केही सदस्य र टिमका केही सदस्य पनि गएका थिए।