बलिउड अभिनेता अजय देवगनको एक्सन थ्रिलर फिल्म 'भोला' ले बक्स अफिसमा राम्रो सुरूवात गरेको छ।
हिन्दी फिल्म विश्लेष तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन ११ करोड २० लाख भारू कमाएको छ।
'रामनवमीको अवसर पारेर प्रदर्शन भएको फिल्म भोलाले पहिलो दिन राम्रो सुरूवात गरेको छ। रातीको शोमा दर्शकको उत्साहजनक उपस्थिति थियो तर बिहान र दिउँसो माहौल सुस्त रह्यो,' उनले ट्वीटमा लेखेका छन्।
'पठान' र 'तू झूठी मैं मक्कार' पछि योवर्ष राम्रो कमाइ गर्न तेस्रो हिन्दी फिल्म बनेको छ। भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार 'भोला' १०० करोड भारू बजेटमा निर्माण भएको हो।
अजय देवगनको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्ममा तब्बु, दीपक दोबरियाल, गजराज राव, सञ्जय मिश्रालगायत कलाकारको अभिनय छ।
फिल्ममा अजयले भोलाको भूमिका निवार्ह गरेका छन् भने तब्बु प्रहरीको भूमिकामा देखिएकी छन्। भोला बाहिर लडाकु र भित्री रक्षक हुन्।
‘भोला’ दक्षिण भारतीय फिल्म ‘कैथी’ को रिमेक हो।