कमेडीको डोज भनेर चिनिने कपिल शर्मा भारतका महंगा कमेडियन मध्येका एक हुन्।
कपिलको जन्म अमृतसरमा भएको हो। उनको बुवा जितेन्द्र कुमार पञ्जाब पुलिसमा काम गर्थे भने उनकी आमा जनक रानी गृहिणी हुन्।
सामान्य परिवारमा जन्मिएका कपिलसँग अहिले ३ सय करोड भारूको सम्पत्ति छ। केही समयअघि उनले आजतकसँगको अन्तर्वार्तामा आफू ३ सय करोडको मालिक भएको स्वीकार गरेका थिए।
हाल ‘द कपिल शर्मा शो’ को चौथो सिजन प्रसारण भइरहेको छ। उनी अहिले एक सिजनमा करिब ५० करोड भारू पारिश्रमिक लिन्छन्।
कपिलले सानै उमेरमा कम गर्न सुरू गरेका थिए। कर्ली टेल्सलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो पहिलो पारिश्रमिक ५०० सय भारू भएको बताएका छन्।
त्यतिबेला उनी एक पिसिओ बुथमा काम गर्थे। दश कक्षा पास गरेपछि उनले कपडा उद्योगमा काम गर्न थाले। त्यहाँ उनले महिनाको ९०० भारू कमाउँथे।
आफूले कमाएको पैसाले उनी म्यूजिक सिस्टम र आमाका लागि उपहार किन्थे। उनले आफ्नो सामान्य खर्चका लागि बुवासँग पैसा माग्न नपरोस् भनेर सानै उमेरदेखि काम सुरू गरेका हुन्।
कपिल २२ वर्षको हुँदा उनको बुवाको मृत्यु भयो। बुवाको मृत्युपछि पुलिस विभागले उनलाई जागिर प्रस्ताव गरेको थियो तर उनले अस्वीकार गरे।
कपिललाई सानै उमेरदेखि गायनमा रूचि थियो। तर उनले थिएटरमा काम गरे। थिएटरमा काम गर्दा उनले निकै चर्चा कमाए। यसैकारण उनलाई अमृतसरको कलेजले नि:शुल्क भर्ना गरेको थियो।
स्तातक सकिएपछि उनी मुम्बईमा आए। उनले 'ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज'मा अडिसन दिए तर छनोट भएनन्। यसै शोको तेस्रो सिजनमा उनले पुन: अडिसन दिए। यस सिजनमा उनी छनोट मात्र भएनन्, विजेता नै भए।
यसै शोको पुरस्कार राशीले उनले बहिनीको विवाह गरिदिएका थिए। यस शोको विजेता भएपछि उनले पछि फर्किएर हेर्नु परेन।
उनले 'छोटे मियाँ, झलक दिखा जा र कमेडी सर्कस' जस्ता कमेडी शोमा काम गरेका छन्। त्यसपछि उनले आफ्नै प्रोडक्सन हाउसबाट 'कमेडी नाइट्स विथ कपिल' सञ्चालनमा ल्याए।
उनले 'किस किसे प्यार करूं, फिरंगी र ज्विगाटो' जस्ता फिल्ममा समेत अभिनय गरेका छन्।