दक्षिण भारतीय फिल्म 'आदिपुरुष' विवादमा फसिरहेको छ।
यो फिल्मको टिजर सार्वजनिक भएदेखि आलोचना भइरहेको थियो। अब फिल्मको नयाँ पोस्टरका कारण निर्माता कानुनी झमेलामा फसेका छन्।
रामनवमीको अवसर पारेर फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेको थियो। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार पोस्टर सार्वजनिक भएसँगै फिल्मविरूद्ध धार्मिक भावनामा ठेस पुर्याएको आरोप लागेकाे छ।
सञ्जय दिनानाथ तिवारीले ‘आदिपुरुष’ का निर्माता, कलाकार र निर्देशकविरूद्ध साकिनाका प्रहरी चौकीमा उजुरी दिएका हुन्। उनी आफूलाई सनातन धर्मको प्रचारक बताउँछन्। उनले मुम्बई उच्च अदालतका वकिल आशिष राय र पंकज मिश्रामार्फत उजुरी पत्र दर्ता गराएका हुन्।
‘आदिपुरुष’ को नयाँ पोस्टरमा हिन्दु धार्मिक ग्रन्थ ‘राम चरितमानस’ का पात्रहरूलाई अनुपयुक्त रुपमा देखाइएको र निर्देशक ओम राउतले हिन्दु धर्म समाजको धार्मिक भावनामा ठेस पुर्याएको उजुरी पत्रमा उल्लेख छ। योसँगै एफआईआर दर्ता गराउन माग गरिएको छ।
उजुरी पत्र अनुसार पोस्टरमा सबै पात्रलाई जनै नलगाई देखाइएको छ।
हिन्दी र तेलेगु भाषामा छायांकन भएको फिल्म ‘आदिपुरुष’ ओम राउतले निर्देशन गरेका हुन्। फिल्ममा प्रभास, कृति सेनन, सैफ अली खान र सनी सिंह मुख्य भूमिकामा छन्। यो फिल्म आगामी १६ जुनमा प्रदर्शन हुनेछ।
यो तमिल, मलयालम, कन्नडलगायत अन्य भाषामा जुन १६ देखि प्रदर्शन हुनेछ।