यतिबेला सामाजिक सञ्जालमा करण जोहरको पुरानो भिडिओ भाइरल भइरहेको छ।
भिडिओ हेरेर दर्शकहरूले बलिउड फिल्म निर्माता करण जोहरले अभिनेत्री अनुष्का शर्माको फिल्मी करियर सुरू नहुँदै सकाउन लागेको आरोप लगाएका छन्।
भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार उक्त भिडिओ सन् २०१६ को हो। मुम्बई फिल्म फेस्टिभलको मञ्चमा राजीव मसन्द र अनुपमा चोपडासँग करण थिए। त्यहाँ उनी आफ्नो फिल्म ‘ऐ दिल हे मुश्किल’ का कलाकार अनुष्का शर्मा र ऐश्वर्या रायसँग पुगेका थिए।
यसैबीच उनले अनुष्काको बारेमा कुरा गर्दै भने, ‘म एक समय अनुष्काको भविष्य सिध्याउन चाहन्थेँ। आदित्यले अनुष्काको फोटो देखाउँदा मैले फिल्ममा नलिन अनुरोध गरेको थिएँ।’
उक्त मञ्चबाट अनुष्कासँग माफी माग्दै भने, ‘मैले अनुष्काको ब्यान्ड बाजा बारात हेरेपछि उनलाई फोन गरेर माफी मागेँ। त्यतिबेला मलाई नराम्रो महसुस भएको थियो। यदि आदित्यले मैले भनेको कुरा मानेको भए एउटा राम्रो अभिनेत्रीको भविष्य सकिन्थ्यो।’
आदित्य चोपडा फिल्म ‘रबने बना दी जोडी’ का लागि हिरोइनको खोजीमा थिए। त्यतिबेला करणले आदित्यसँग अनुष्कालाई नलिन अनुरोध गरेका थिए।
शाहरूख खान र अनुष्का शर्माको मुख्य भूमिका रहेको फिल्म ‘रब ने बना दी जोडी’ २००८ मा प्रदर्शन भएको थियो। फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो।