शाहरूख खान र सलमान खानको फिल्म 'टाइगर भर्सेस पठान' मा हलिउड अभिनेता भिलेनको भूमिकामा देखिने भएका छन्।
यशराज फिल्म्सले 'टाइगर भर्सेस पठान' लाई भव्य बनाउन हलिउड अभिनेता जेसन ममोआलाई फिल्म अफर गरेका हुन्। ममोआ ‘एक्वाम्यान’ को पात्रले चर्चित छन्। यस विषयमा निर्माण टिमले आधिकारिक पुष्टि गरेका छैनन्।
भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार फिल्मको बजेट ३०० करोड भारू बताइएको छ। तर यस बजेटभित्र हलिउड अभिनेता ममोआको पारिश्रमिक राखिएको छैन।
यस फिल्ममा सलमान र शाहरूख बाहेक अन्य कलाकार को-को हुनेछन् भनेर खुलासा गरिएको छैन।
सिद्धार्थ आनन्दले निर्देशन गर्ने फिल्मको छायांकन २०२४ देखि सुरू हुनेछ।
यो यशराज फिल्म्सको स्पाइ युनिभर्सको ७ औं फिल्म हुनेछ। यशराज फिल्म्स ब्यानरबाट बनेका ‘एक था टाइगर, टाइगर जिन्दा है, वार र पठान’ स्पाइ युनिभर्सका फिल्म हुन्।
'टाइगर ३' प्रदर्शनकाे पर्खाइमा छ भने 'वार २' छायांकनकाे तयारीमा छ। यी फिल्मपछि 'टाइगर भर्सेस पठान' बन्नेछ।