गत अप्रिल २८ मा रिलिज भएको एसएस राजमौलीको ‘बाहुबली २’ ले बक्स अफिसमा १६०० करोड भारुभन्दा बढी कमाइसकेको छ। त्यस्तै केही दिनअघि चीनमा रिलिज भएको आमिर खानको ‘दंगल’ ले चीनमा मात्र १००० करोड भारुभन्दा बढी कमाइसकेको छ।
यी दुई फिल्मको कमाइसँगै अब चर्चा छ सलमान खानको नयाँ फिल्म ‘ट्युबलाइट’ को। सलमानका हिट फिल्मले राम्रो कमाइ गर्दै आएकोमा यही इदमा रिलिज हुने ‘ट्युबलाइट’ मा पनि सबैको नजर छ। तर, सलमानका अनुसार उनको यो फिल्मले ‘बाहुबली २’ को रेकर्ड तोड्न सक्दैन। उनले आफैं यो कुरा भनेका हुन्। एक वेबसाइटलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘ट्युबलाइटले बाहुबली २ को रेकर्ड तोड्ला भन्नेमा मलाई शंका छ।’
उनले थपेका छन्, ‘बाहुबली २ लाई हिन्दी दर्शकले सफल बनाएका हुन्। यही कारणले बाहुबलीले यति कमाइ गर्न सकेको हो।’ उनले कमाइका बारेमा आफूलाई कुनै दबाब अनुभूति नभएको पनि बताएका छन्।
सलमानले अर्को अन्तर्वार्तामा बाहुबलीको कमाइ आफ्नो चार वर्षको कमाइ भएको बताएका छन्। उनले भनेका छन्, ‘बाहुबली ४ वर्ष लगाएर बनेको फिल्म हो। चार वर्षमा मेरा दुई फिल्म आउँछन्। ती दुई फिल्मको कमाइ जोड्दा बाहुबली २ को कमाइ हुन्छ।’
बाहुबली २ यस्तो फिल्म हो, जुन बलिउडमा धेरै कमाइ गर्ने फिल्मलाई समेत चुनौती दिँदै अहिलेसम्मको सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा दर्ज भएको छ।