फिल्म 'डियर माया' बाट बलिउडमा कमब्याक गरेकी अभिनेत्री मनिषा कोइरालाले शाहरुख खानको आगामी फिल्मका लागि शुभकामना दिएकी छन्। शाहरुख र अनुष्का शर्माको मुख्य भूमिका रहेको इम्तियाज अलीको फिल्मको दुई दिन अघि पोस्टर सार्वजनिक भएको थियो। पोस्टरसँगै यो फिल्मको नाम पनि जुरेको हो।
पहिले 'रिङ' अनिपछि 'रेहनुमा' राखिने भनिएको नाम फेरेर अब 'जब ह्यारी मेट सेजल' राखिएको छ।
'जब ह्यारी मेट सेजल' को पहिलो पोस्टर सेयर गरेर शाहरुख, अनुष्का र इम्तियाजलाई बधाइ दिदैं मनिषाले फिल्म हेर्न आतुर भएको बताएकी छन्।
शाहरुखका लागि यो मनिषाको जवाफी शुभकामना हो। मनिषाको गत हप्ता रिलीज भएको डियर मायाका लागि शाहरुखले शुभकामना दिएका थिए भने खुलेर प्रशंसा पनि गरेका थिए।
शाहरुख र मनिषाले सन् १९९५ मा गुड्डु र १९९८ मा दिल से र अचानक फिल्ममा सँगै काम गरेका थिए। सँगै काम गरेका मनिषा र शाहरुख राम्रा साथी हुन्। एकअर्काको फिल्मको लागि उनीहरुले खुलेरै शुभकामना दिदैं गरेका छन्।