बलिउड अभिनेता आमिर खानको पछिल्लो फिल्म ‘दंगल’ ले चीनमा एकदमै राम्रो व्यापार गरेको छ। गत मे ५ मा चीनमा रिलीज भएको यो फिल्मले चीनमा मात्रै ११ सय करोड भारुभन्दा बढी कमाइसकेको छ।
चीनको बक्सअफिसमै सबैभन्दा धेरै कमाउने फिल्मको सूचीको ३३औं नम्बरमा पर्न सफल दंगलका चीनमा कयौं फ्यान भएका छन्।
आमिरको फिल्म ‘दंगल’ चिनियाँ जनताले मात्र हैन राष्ट्रपति सि जिङ पीङले पनि हेरेका छन्। भारतीय समाचारमाध्यमका अनुसार शनिबार चिनियाँ राष्ट्रपति पीङले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर आफूले दंगल हेरेको र मनपरेको बताएका छन्।
राष्ट्रपति पीङले दंगलले चीनमा राम्रो व्यापार गरेको र आफूले पनि हेरेको मोदीलाई बताएका थिए।
रेसलर महावीर सिंह फोगट र उनका दुई छोरीहरुको जीवनमा आधारित फिल्ममा आमिरले महावीरको भूमिका निभाएका छन्।
आमिरले आफूले दंगललाई चिनियाँ दर्शकले मनपराउने आश गरेपनि यतिका धेरै व्यापार गर्न सफल होला भनेर नसोचेको बताएका छन्।