दुईवटी बहादुर दिदी–बहिनीको कथामा आधारित भारतीय सिनेमा ‘दंगल’ चीनमा कतिसम्म हिट भएछ भने भर्खरै भारतीय प्रधानमन्त्रीसँगको भेटमा चीनका राष्ट्रपतिले त्यसको प्रशंसा नगरी रहन सकेनन्। आमिर खान निर्मित एवं अभिनित त्यस सिनेमाको आफू ‘फ्यान’ नै भएको चिनियाँ राष्ट्रपति सी सिनफिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा उल्लेख गरेका थिए।
कजाकस्तानमा आयोजित ‘सांघाई को–अपरेसन अर्गनाइजेसन’ को वार्षिक सम्मेलनमा यी दुई सरकार तथा राष्ट्रप्रमुखको भेट भएको थियो। त्यो भेटमा भारतका विदेशसचिव सुब्रमन्यम जयशंकरसमेत उपस्थित थिए। दुई मुलुकबीचको साँस्कृतिक आदानप्रदानलाई कसरी अझ अगाडि बढाउने भन्ने विषयमा मोदी र सी वार्तारत रहँदा यो सन्दर्भ निस्किएको जानकारी जयशंकरले उल्लेख गरेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ।
यो पछिल्लो जानकारी आउनुअगावै चीनमा दंगलले पारेको प्रभावबारे भारतीय अखबारहरूमा पर्याप्त समाचार आइसकेका छन्। त्यो सिनेमाको कथाले चीनका दर्शकको भावनालाई कसरी हल्लाउन सफल भयो भन्ने विषयमा थुप्रै विश्लेषण भइसकेका छन्।
पितृसत्तात्मक समाजका दुई छोरीलाई छोराहरूको खेल भनेर चिनिने ‘कुश्ती’ को अखडामा अभ्यस्त बनाएर विश्वस्तरका खेलाडी बनाउने एक जना पिताको अठोटमा यो सिनेमा उभिएको छ। भनिरहनु पर्दैन, चीनको समाज पनि यस्तो भोगाइबाटै गुज्रिरहेको छ जहाँ छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिइन्छ।

यस्तो अवस्थामा एकमात्र छोरीका पिता रहेका चिनियाँ राष्ट्रपतिको मुटु यसका कथाले कसरी हल्लायो होला भनेर अन्दाज लगाउन धेरै गाह्रो पर्दैन। वर्सेनी हलिउडबाट ३८ वटा सिनेमालाई मात्र प्रवेशको अनुमति दिने चीनले वर्षमा चारवटा सिनेमा मात्र आफ्नो बजारका निम्ति खुला गर्ने गरेको छ। मे ५ तारिखका दिन चीनमा रिलिज भएको ‘दंगल’ ले हालसम्म १७ करोड अमेरिकी डलरभन्दा बढी आर्जन गरिसकेको छ। यसलाई चिनियाँ भाषामा ‘कुश्ती खेलौं’ र ‘बुवा’ को नाम दिइएको छ। चीनको इतिहासमै सर्वाधिक कमाइ गर्ने २० वटा चलचित्रमध्ये बीसौं स्थान हासिल गर्न पनि यो सिनेमा सफल भइसकेको छ।
यसअगावै चीनमा पर्याप्त ‘फ्यान’हरु जन्माइसकेका यसका नायक ५२ वर्षीय आमिर खान अब त्यहाँका ठूलै ‘स्टार’ मा समेत दरिन थालेका छन्। आमिरले आर्जन गरेको यो लोकप्रियता यी दुई छिमेकीको बीचमा साँस्कृतिक आदानप्रदानको कुनै पनि कार्यक्रम अघि बढाउन उपयोगी हुनसक्छ। चीनमा यतिखेरै पनि सात हजारभन्दा बढी सिनेमाहलमा ‘दंगल’ चलिरहेकै छ।
पछिल्लो समय चीनमा ‘दंगल’ ले प्राप्त गरेको सफलता एउटा मानक हुनसक्छ। दिनप्रतिदिन शक्तिशाली बन्दै गएको चीनका राष्ट्रपतिसमेत कुनै भारतीय फिल्मको ‘फ्यान’ हुनु रोचक जानकारी हुनसक्छ। तर, भारतीय फिल्म उद्योगका निम्ति यो पहिलो यस किसिमको घटना पक्कै होइन।
‘आवारा हुँ
या गर्दिशमे हुँ, आसमानका तारा हुँ,
आवारा हुँ’
हामीले दशकौंदेखि गुनगुनाउँदै आइरहेको शैलेन्द्र लिखित यस गीतका अर्थ बुझ्न हामीलाई पक्कै गाह्रो परेको थिएन। तर, कुन मोहले होला, कुनै समय पूर्व रुसी राष्ट्रपति बोरिस यल्तसिन यसै गीतको लयमा सिट्टी फुक्दै हिँड्ने गरेको सन्दर्भ चर्चामा आएका थिए।
राष्ट्रपति यल्तसिन मात्र होइन, स्वयं राजधानी मस्कोका चर्चित नगरपिता युरी लुज्कोभले समेत ‘आवारा’ सिनेमाको यो गीत सुसेल्ने गरेका थिए।
यो सबैको पछाडि एउटै कारण थियो, तत्कालीन सोभियत संघमा राजकपुरको लोकप्रियता। हिन्दी सिनेमा उद्योगकै महान हस्ती मानिने राजकपुर किन रुसमा यति प्रख्यात भएका थिए?
गाह्रो समयमा पनि कसरी हिम्मतले काम लिनुपर्छ भन्ने आत्मबल बाँड्ने चामत्कारिक नायक हुनु नै राजकपुरको विशेषता रहेको रुसी वृद्धा लुडमिला सेकाचेवा बताउँछिन्।
‘पचासको दशकको प्रारम्भमा विश्वयुद्धले लथालिंग भएका हामी र भर्खरै बेलायतको उपनिवेशबाट मुक्त भएको भारतीय समाजको अवस्था झन्डै उस्तै–उस्तै थियो,’ राजकपुरको सिनेमाबारे त्भेर सहरमा आयोजित छलफल कार्यक्रममा उनले भनिन्, ‘हामीबीच गरिबी र अभावका उस्तै कथा थिए।’
त्यस्तो बेला राजकपुरको ‘आवारा’ ले रुसी भाषामा अनुवाद हुने मौका पाएको थियो। हिन्दीको ‘आवारा’ जस्तै मिल्दोजुल्दो रुसी नाम त्यस सिनेमाले पाएको थियो ‘ब्रोडिएगा’।
सिनेमा जति प्रसिद्ध भएको थियो, त्यसभन्दा बढी यसको शीर्ष गीतले जनमानसमा हलचल मच्चाएको थियो। त्यो ताका भारतबाट जाने पर्यटकलाई रुसीहरूले यो गीत सुनाएरै स्वागत गर्थे। यतिमात्र होइन, औपचारिक भोजहरूमा पनि यसका धुन बज्न थालेका थिए।
त्यतिबेला ‘आवारा’ का ८ सयवटा अनुवादसहितको प्रिन्ट बनाएर सोभियत संघका १५ वटा राज्यमा देखाइएको थियो।

यसरी तत्कालीन शक्तिशाली सोभियत रुसमा पहिलो सफल हिन्दी सिनेमाको दर्जा पाएको ‘आवारा’ सँगै त्यसपछिको अर्को सफलता चार वर्षपछि उनै राजकपुरले बनाएको ‘श्री ४२०’ ले पाएको थियो। त्यसपछि राजकपुर तत्कालीन रुसमा स्थापित नाम बन्न पुगे।
‘हामीभन्दा गरिब र दुःखीहरूको मुलुक भारतका एक हिरोले कठिनाइका बीच पनि अनुहारमा सोझो मुस्कान देखाउँदा त्यसले हामीलाई समेत एक किसिमको प्रेरणा दिएको थियो,’ लुडमिला भन्छिन्, ‘त्यसले रुसी दर्शकहरूमा जीवनप्रतिकै उत्साह बढाइदिएको थियो र राजकपुर हामीमाझ आशावादीताको प्रतीक बन्न पुगेका थिए।’
त्यसको प्रभाव कतिसम्म परेको थियो भने तत्कालीन ‘फलामे पर्दा’ भनिने रुसमा एउटा सिंगो पुस्ताका थुप्रै तन्नेरीले दुरदराज भारतको ‘आवारा हुँ’ कण्ठस्थ पारेर आफुलाई हुर्काएको थियो। राष्ट्रपति यल्तसिन र मस्कोका मेयर लुझ्कोव त त्यसै पुस्ताका प्रतिनिधि पात्र मात्र थिए।
‘हामी समान मूल्य र मान्यतामा विश्वास राख्छौं,’ लुडमिला भन्छिन्, ‘असत्यमाथि जहिले पनि सत्यको विजय हुन्छ भन्ने पाठ बोकेका हिन्दी सिनेमाहरु आज पनि हाम्रो समाजमा उत्तिकै लोकप्रिय छन्।’
कुरा जब राजकपुरको आउँछ तब उनकै छोरा ऋषि कपुरले जस्तो पुराना याद निकालेर कसले बताउन सक्ला?
केही महिनाअघि राजधानी नयाँदिल्लीमा आयोजित ‘ब्रेक्सिट फिल्म फेस्टिभल’ को उद्घाटन सत्रमा बोल्दै ऋषिले चीन र तत्कालीन सोभियत रुससँग जोडिएका उनका पिताको अनुभव सुनाएका थिए।
‘बुवा एकपटक झुक्किएर भिसा नलिइकनै रुस पुग्नुभएछ,’ उनले भनेका थिए, ‘त्यहाँ उहाँको उल्टो भव्य स्वागत भएको थियो।’
कुरा साठीको दसकको मध्यतिरको हो। त्यतिबेला राजकपुर उनको अति महत्वकांक्षी फिल्म ‘मेरा नाम जोकर’ बनाउने तयारीमा थिए।
‘त्यस सिनेमामा देखाइने सर्कसको निम्ति एउटा रुसी कम्पनीसँग कुरा चलिरहेको थियो,’ ऋषिले भने, ‘बुवा अचानक मस्को पुग्नुपर्ने भयो र बेलायतबाट सोझै त्यता लाग्नुभयो।’
त्यतिबेला राजकपुरलाई आफूसँग सोभियत संघको भिसा छ भन्ने नै मनमा परेको थियो।
‘जबकि एयरपोर्टमा पुगेपछि बुवासँग भिसा नरहेको प्रस्ट भयो,’ उनले थपे, ‘के होला र कसो होलाको अन्यौलकै बीच रुसी अधिकारीहरुले उहाँलाई एयरपोर्टमा भव्य स्वागत गरेका थिए।’
राजकपुर अचानक पुग्नुपर्ने कार्यक्रम भएकाले त्यहाँ कुनै आयोजक थिएनन्। त्यसैले गुपचुप रुपमै विमानस्थलबाट उनी बाहिरिएका थिए।
‘विमानस्थलको ढोकाबाट बाहिर आएपछि बुवाले ट्याक्सी रोक्नुभयो,’ ऋषि भन्छन्, ‘त्यतिन्जेल वरपरका मानिसले राजकपुर मस्को आएको सुइँको पाइहालेछन्।’

हत्तपत्त ट्याक्सीमा बसेका राजकपुरले त्यतिबेला चालकलाई तत्कालै ट्याक्सी अगाडि बढाउने आदेश दिएका थिए।
‘तर, त्यो ट्याक्सी त सडकमा अगाडि बढ्नुको साटो माथि पो उचालिँदै थियो,’ बुवाले सुनाएको रोचक जानकारी ऋषिले उल्लेख गरे, ‘वास्तवमा वरपर जम्मा भएका भीडले ट्याक्सीलाई नै काँधकाँधमा जुरुक्क बोकेर माथिमाथि पो पुर्याइरहेका रहेछन्।’
ऋषि कपुरसँग पिता र चीनका बीच अर्को एउटा रोचक अनुभव पनि रहेछ।
‘धेरैपछि असीको दसकमा चीनले बुवालाई उनीहरूको मुलुक बोलाएका थिए,’ ऋषि भन्छन्, ‘भारत सरकारसँग त्यसका निम्ति चीनले अनुरोध गरेको थियो।’
त्यो बेला चीनसँग भारतको सम्बन्ध सुमधुर थिएन।
भारतको स्वतन्त्रतासँगै तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले विश्व रंगमञ्चमा सोभियत संघसँग अघि बढाएको मित्रतासँगै यी दुई मुलुकबीच हिन्दी फिल्मका माध्यमबाट साँस्कृतिक कूटनीतिका अभ्यास पनि भएका थिए। जबकि भारतलाई निकटतम छिमेकी चीनसँग सिमानामा युद्ध गरेर पराजय भोग्नुपरेको पीडा थियो। त्यसले दीर्घकालसम्म भारत चीन सम्बन्धलाई असर पारेको थियो।
‘मेरो बुवा चिनियाँ खानेकुरा खुबै मनपराउनु हुन्थ्यो,’ ऋषि भन्छन्, ‘यस्तोमा चीनको निम्तो आएको थाहा पाएर उहाँ असाध्यै खुसी हुनुभएको थियो।’
ऋषिका अनुसार मन्त्रालयले यस कुराको जानकारी दिँदा राजकपुर केटाकेटीजस्तै खुसी भएर हाँसेका थिए। त्यतिबेला राजकपुरले दंगदास भएर श्रीमती कृष्णा कपुरलाई ‘मसँग तिमी पनि जानुपर्छ’ भनेका थिए।
‘त्यतिबेला बुवा चीन जानुभएन,’ ऋषि भन्छन्, ‘त्यसको पनि एउटा रमाइलो कारण बताउनुभएको थियो।’
ऋषिका अनुसार मन्त्रालयबाट त्यो खबर पाएको एक सातामै राजकपुरले उदास अनुहार लगाएका थिए। त्यतिबेला उनले पत्नी कृष्णालाई हेर्दै ‘अहँ म चीन जान्न’ भने।
श्रीमतीले कारण जान्न खोजिछन्।
‘ती चीनका दर्शकले पचासको दशकमा बनेका मेरा सिनेमाहरु हेरेर त्यो तन्नेरी र ह्यान्डसम राजकपुरलाई भेट्न खोजेका हुन्,’ उनको भनाइ रहेछ, ‘अहिले म बूढो र मोटो पनि भइसकेँ, त्यसैले यो बुढेसकालको ज्यान देखाएर म उनीहरुको मन तोड्न चाहन्न।’
ऋषिका अनुसार त्यसपछि उनका पिता कहिल्यै चीन गएनन्। सन् १९८८ मा राजकपुरको निधन ६३ वर्षको उमेरमा भएको थियो।