कुनै पनि व्यक्ति वा घटनाका लागि १६ वर्ष पर्याप्त समय हो, परिपक्वताको निम्ति।
सन् २००१ मा रिलिज फरहान अख्तरको ‘दिल चाहता है’ ले पनि यसै वर्ष १६ वर्ष पूरा गरेको छ। आमिर खान, अक्षय खन्ना, सैल अली खान, प्रीति जिन्टा, डिम्पल कपाडियाद्वारा अभिनीत यो फिल्मलाई बलिउडकै ‘माइलस्टोन’ मानिन्छ। कलेजका तीन जना साथीहरूको मित्रता र प्रेममा आधारित यो फिल्मलाई विषयवस्तु र प्रस्तुतिका दृष्टिले बलिउडकै ‘नवीन सिनेमा’ का रूपमा लिइएको थियो। यसैलाई पछ्याउँदै बलिउडमा अन्य थुप्रै फिल्म पनि बने।
उमेरका हिसाबले यतिबेला यो सिनेमालाई परिपक्व मानिएको छ, ‘सिक्वेल’ (दोस्रो भाग) को निम्ति।
निर्देशक फरहान स्वयं पनि ‘दिल चाहता है–२’ बनाउन इच्छुक रहेको बम्बेटाइम्स डटकमले जनाएको छ। उनले यसबारे फिल्मका कलाकारहरूसँग कुराकानी पनि गरिसकेका छन्। उक्त फिल्ममा ‘सिद’ को भूमिका निर्वाह गरेका अक्षय खन्नाले भने दिल चाहता है जस्तो फिल्मको दोस्रो शृंखला निर्माण गर्नु राम्रो विचार नभएको बताएका छन्।
‘दिल चाहता है जस्तो फिल्मको दोस्रो भाग बनाउनु राम्रो आइडिया हुन सक्दैन, यो बन्यो भने पनि म यसमा काम गर्न इच्छुक नहुन सक्छु,’ उनले भनेका छन्, ‘सबभन्दा पहिला त दोस्रो भाग नै किन बनाउनुपर्यो भन्नेमा हामी प्रस्ट हुनुपर्यो। हामीसँग यस्तो आइडिया हुनुपर्यो जुन पहिलो भागभन्दा राम्रो होस् र त्यसले अघिल्लो कथालाई थप उचाइमा लैजान्छ भन्ने यकिन होस्।’
यसरी दोस्रो भागमा खेल्न अनिच्छुक रहे पनि दिल चाहता है–२ को निम्ति उनले नयाँ आइडिया भने दिएको बम्बेटाइम्स डटकमले लेखेको छ।
अक्षयले दिल चाहता हैका तीनै जना पात्रको बुढेसकालको कथामा दोस्रो भाग बनाउन सकिने आइडिया ल्याएका हुन्। तर, यसका लागि अझै १५ वर्ष कुर्नुपर्ने उनको भनाइ छ। ‘ती तीनै जना केटाहरू बुढेसकालमा कस्तो जिन्दगी बिताइरहेका छन्, आफ्नो जिन्दगीबाट उनीहरू सन्तुष्ट रहे कि असन्तुष्ट भन्ने विषय समेटेर दोस्रो भाग बनाउन सकिन्छ,’ उनले भनेका छन्, ‘यसका लागि थप १५ वर्ष कुर्नुपर्छ।’