भारतीय टिभी च्यानल जीटिभीबाट प्रसारण हुने कार्यक्रम ‘सारेगमप लिटिल च्याप्म्स’को छैठौं सिजनमा अन्य प्रतियोगी भन्दा निकै फरक एक छन् पाँच वर्षीय बालक जयस कुमार।
सारेगमप लिटिल च्याम्प्स अहिले जयसकै कारण चर्चामा छ।
जयसले निर्णायक मण्डलका सबै सदस्यका साथै दर्शकको मन जित्दै कार्यक्रमको टीआरपी पनि बढेको छ। गाह्रो गीत पनि सजिलो गाउन सक्ने जयस गाउँदा नाच्छन् र निर्णायक सदस्यसँग मस्ती गरिरहेका हुन्छन्। उनले गाउने गीत पनि कुनै एक प्रकृतिको हुँदैन। उनी सबै खाले गीत सजिलै गाइदिन्छन्।
उनी कार्यक्रममा अहिले सबैका 'छोटे भगवान' भएका छन्। उनी निर्णायक र जुरी सदस्यका साथै अन्य सहभागीका पनि 'छोटे भगवान' बनेका छन् कार्यक्रममा।
दिल्लीको अमेटी ग्लोवर स्कुलको कक्षा एकमा पढ्ने जयस निकै चुलबुले छन्। जयसको प्रतिभा र प्रस्तुतिले प्रभावित भएका निणार्यक र जुरीमध्ये सबैभन्दा बढी 'हैरान' भएका हुन् गायक हिमेश रेशमिया।
दिल्लीका पाँच वर्षीय बालक जयसले अडिसन राउण्डमा फिल्म ‘ए दिल है मुस्किल’को ‘चन्ना मेरा आ मेरे आ’ गाउँदा हिमेश स्टेजमै गएर उनको प्रशंसा गरेका थिए। उनले जयसको खुट्टा ढोग्दै ‘छोटे भगवान’को संज्ञा दिदैं आशिर्वाद मागे। अवोध जयसले पनि आर्शिवाद दिदैं भनेः ‘तपाईको कल्याण हुन्छ।’
जयसको आशिर्वादले साँच्चै हिमेशको कल्याण भएको उनले बताएका छन्। विभिन्न भारतीय समाचारमाध्यममा दिएको अन्तर्वातामा उनले आफ्ना वुबाको खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएर तनावमा भएको बेला जयसको 'आर्शिवाद'पछि गर्नै नपरेको बताएका छन्। त्यसदिन पछि हिमेशका बुवाको स्वास्थ्यमा सुधार आएको बताउँदै भनेका थिए, 'जयस साँच्चै अद्भुत कला भएको बालक हो।'
उनले जयसको सांगीतिक पाटोबारे पनि भने, 'संगीतमा जयसा क्षमतावान् छ। राम्रो प्रशिक्षण पाए उ भोलि ठूलो स्टार बन्छ।’
जयसले एकपटक स्टेजमा ‘हनुमान चालिसा’ सजिलै गाएर सुनाएका थिए। उनको सबै निर्णायक र जुरी सदस्यले उठेर सम्मान पाए। हिमेश यति खुसी भए कि उनले आफ्नो एक गीत विशेष जयसलाई गाउन दिने भएका छन्।
जयसकी आमाका अनुसार जयले हनुमान चालिसा युट्युब हेरेर गाउन सिकेका हुन्। उनले भनिन्,‘उसले चालिसा युट्युबबाट गाउन सिकेको हो। उ आफैँ खोज्दै सिक्छ। उसको स्मरण क्षमता अद्भुत छ। ३,४ पटक हेरेपछि उसलाई जस्तो गाह्रो गीतको पनि शब्द याद हुन्छ।’
उनकी आमा भन्छिन्,जयसलाई कार्टुन हेर्न मन पर्दैन। बरु उनी खाली समयमा जे सामान पायो त्योबाट नयाँ धुन निकाल्दै गीत गाउन मन पराउँछन्।
जयस डेढ वर्षको हुँदा बोल्न पनि जान्दैन थिए। तर उनी गीत गाएझैं गरिरहेका हुन्थे। कसैको जन्मदिनमा पनि जयसले ह्याप्पी बर्थडे नभनि गीत गाएर नै शुभकामना दिने गरेका छन्।
उनी अरूभन्दा पृथक छन्। कार्यक्रममा पनि, सामान्य जीवनमा पनि। जयसको मुटु उनको छातीको दाहिने भागमा छ। यस्तो करोडौं मानिसमध्ये एकमा मात्र हुनसक्छ। यस्तै करोडौंमध्येका एक हुन् जयस।
उनको मुटु जस्तै उनी पनि अलग छन् सबैभन्दा। त्यसैले सबैका प्यारा पनि।
निर्णायक सदस्य गायिका नेहा कक्करसँग उनी निकै रमाइलो गरिरहेका हुन्छन्। नेहालाई आफ्नो गर्लफ्रेन्ड भन्दै उनलाई खुसी पार्न कार्यक्रम सञ्चालक आदित्य नारायण झासँग झगडै गर्न कसिन्छन्।
अभिनेता सलमान खानको 'सुलतान' हेरेपछि जयस सलमानका फ्यान बने। 'ट्युवलाईट' प्रचार कार्यक्रममा सलमान आउँदा जयसले उनको फिल्म 'जुडवा' को ‘टन टनाटन टन टन टारा’ गीत गाएर प्रभावित बनाए। कार्यक्रममा सलमानको पहिलो भेट नै जयससँग थियो र उनले पनि 'छोटे भगवान' बाट आर्शिवाद लिएका थिए
कार्यक्रममा आउने सबै अतिथी जयसको फ्यान भएका छन्। शाहरुख खान, अक्षय कुमार, रणवीर कपुर, सोनाक्षी सिन्हा सबैको मनमा बस्न सफल भएका छन् जयस।
अभिनेता अनिल कपुर र अर्जुन कपुर फिल्म ‘मुबारका’को प्रचारका आउँदा जयसले यी दुई अभिनेतालाई पनि आफ्नो आर्शिवाद दिए।
जयसले फिल्म ‘राम लखन’को गीत ‘माई नेम इज लखन’ गाएर अनिललाई यति प्रभावित बनाएका कि उनले जयसको प्रशंसामा बोल्नै पर्यो। उनले भने,'यति सानो उमेरमा यस्तो गीत गाउनु निकै आश्चर्य हो।'
'छोटे भगवान' को उपाधि पाएका जयसको सबैले तारिफ गर्छन् अनि उनी ‘सबैको कल्याण हुन्छ’ भन्दै आर्शिवाद दिन पछि पर्दैनन्।