भारतीय सेन्सर बोर्डले नवाजुद्दिन सिद्दीकी र बिदिता बागद्वारा अभिनित फिल्म ‘बाबूमोशाय बन्दुकबाज’ को ४८ वटा दृश्यमा कैंची चलाएको छ।
फिल्मलाई ‘ए’ (एडल्ट) प्रमाणपत्र दिन योग्य बनाउन ४८ वटा दृश्य काट्नुपर्ने निर्देशन बोर्डले दिएको हो। भारतीय समाचारमाध्यमका अनुसार बोर्डले फिल्मबाट चुम्बन, अन्तरंग दृश्यका साथै गाली र अश्लिल शब्द हटाउन भनेको छ।
‘ए’ प्रमाणपत्र दिदाँ हुने ठाउँमा यतिका धेरै दृश्य काटेर बोर्डले दुर्व्यवहार गरेको फिल्म टोलीले गुनासो गरेका छन्।
यो निर्णयमा फिल्मका कलाकार र केही बलिउडकर्मीले बोर्डले अनावश्यक हस्तक्षेप गरेको प्रतिक्रिया दिएका छन्।
नवाजुद्दीनले ४८ दृश्य काटेपछि आफ्नो फिल्म केही बाँकी नरहने बताएका छन्। ‘फिल्मले एडल्ट प्रमाणपत्र पाउनुपर्ने हो, त्यही दिनुपर्छ। ४८ दृश्य काट्नु अन्याय हो,’ उनले भने, ‘अब त फिल्ममा केही बाँकी नै रहदैंन। सर्ट मूभी बनाएर रिलिज गरेमात्रै हो।’ प्रमाणपत्रबाट नै दर्शकले फिल्म हेर्ने–नहेर्ने निर्णय गर्नसक्ने हुनाले यो सबै वाहियात काम भएको उनको भनाइ छ।
सेन्सर बोर्डले नचाँहिदो कैंची चलाएर फिल्ममा धेरै नै हस्तक्षेप गरेको फिल्म टोलीको भनाइ छ।
निर्देशक कुशान नन्दीले पनि आफ्नो फिल्मबाट ती दृश्य हटाए केही बाँकी नरहने बताएका छन्। टिभी शोहरुमा दैनिक सुनिने शब्द पनि काट्न भन्नू हास्यापद रहेको उनको भनाइ छ।
‘बाबूमोशाय बन्दुकबाज’ को दृश्य काटेका बारे अभिनेता आमिर खानले पनि यो जायज नभएको प्रतिक्रिया दिएका छन्।
उनले फिल्मलाई प्रमाणपत्रले स्तरिकरण र विभाजन गर्नुपर्ने बताएका छन्। उनले भने, ‘फिल्मलाई स्तरिकरण गर्न प्रमाणपत्र दिने हो, दृश्य काट्ने होइन।’
आजका दिनमा यो सेन्सर लाउने कामको कुनै औचित्य नभएको बताउँदै उनले दर्शकको उमेरलाई आधार मानेर वर्गीकरण गरिनुपर्ने धारणा राखेका छन्।
फिल्मकी अभिनेत्री बिनिताले यो कदम सरासर अनुपयुक्त भएको बताएकी छन्। उनका अनुसार अहिले जोकसैले पनि त्यस्ता दृश्य खुलेआम हेर्न पाउने पहुँच छ। यस्तो अवस्थामा फिल्मको कथाअनुसार बगेको केही दृश्य त्यसरी काट्न लाउनु हस्तक्षेप मात्र हो। यसरी सरासर दृश्य काट्ने हो भने फिल्म बनाउनु नै कुनै अर्थ नहुने भन्दै उनले आक्रोश पोखेकी छन्।
अभिनेता अनुपम खेरले पनि बोर्ड फिल्मको लागि दुश्मन नभएर समर्थक हुन पर्ने बताएका छन्। दृश्य यसरी काट्नु निर्माता, निर्देशकलगायत पूरै टोलीको मेहेनतमाथि अन्याय भएको बताएका छन्।
दर्शक आफैंले फिल्म हेर्ने–नहेर्ने निर्णय गर्नसक्ने बताउँदै बोर्डको हस्तक्षेप जरुरत नभएको फिल्म टोलीको भनाइ छ।
बोर्डका अध्यक्ष पहलाज निलहानीले फिल्मका दृश्य काटेर बोर्डका मापदण्ड मात्र पूरा गरेको बताएका छन्।
केही दिनअघि पनि बोर्डले सेन्सरमा नयाँ मापदण्ड बनाएको छ। जसअनुसार फिल्मको मुख्य कलाकारले चुरोट वा रक्सी खाएको देखाइएमा त्यो फिल्मले सिधै ‘एडल्ट’ प्रमाणपत्र दिइने छ।
बोर्डले भारतमा रिलीज हुने फिल्मबाट यस्ता शब्द तथा दृश्य हटाउने वा परिवर्तन गर्ने निर्देशन दिदैं आएको छ।
‘उड्ता पन्जाब’को केही गालीका शब्ददेखि लिएर हलिउड फिल्म ‘जेम्स बोन्ड’बाट चुम्बनको दृश्य पनि बोर्डले हटाउन लगाएको थियो।
सेन्सर बोर्डका कारण एकता कपुरको ‘लिपस्टिक अन्डर माइ बुर्का’ निकै विवादमा तानिएको थियो।
अहिले भारतीय सेन्सर बोर्ड फिल्ममा निकै हावी भएको र हस्तक्षेप अत्यधिक बढेको बलिउडकर्मीको आरोप छ।