‘दी कपिल शर्मा शो’ बाट नवोजित सिंह सिद्धु बाहिरिने कुरा झुटो भएको कपिल शर्माले प्रस्ट्याइसकेका छन्। भारतीय समाचारमाध्यम पिंक भिलासँग कुरा गर्दै उनले सिद्धु केही समयका लागि मात्र जान लागेका बताएका हुन्।
‘यो बाहिरिने खबर झुटो हो। पहिले पनि सिद्धु पाजी केही समयका लागि शोमा हुनुहुन्न थियो। ज्याकी च्यान हाम्रो शोमा आएका बेला पनि उहाँ नभएकाले हामीले रविनाजी (टन्डन) लाई बोलाएका थियौं,’ उनले भने।
सिद्धु र कपिल लामो समयदेखि सँगै काम गर्दै आएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार उनीहरु कलर्स च्यानलमा आउने ‘कमेडी नाइट्स वीथ कपिल’ देखि नै सँगै काम गर्दै आएका हुन्।
सिद्धु बाहिरिने खबरसँगै उनको सिटमा अर्चना पुरन सिंह आउने चर्चा छ। पहिले एकपटक पनि उनी सिद्धु उनको सिटमा बसेकी थिइन्। त्यसबेला सिद्धु बिरामी भएको भनिएपनि कपिल र सिद्धुबीच विवाद भएका कारण उनले अर्चनालाई बोलाएका बताइन्छ।
अर्चनाले अहिले आफू सिद्धुको सिटमा बस्नेबारे मुख खोलेकी छन्। समाचारमाध्यम आइएएनएससँग कुरा गर्दै उनले भनेकी छन्, ‘सिद्धुको कुर्सीमा बस्नु भनेको अनौठो कुरा हो। उनलाई त्यो कुर्सीमा देख्दा देख्दा उनी नै त्यसका लागि योग्य लाग्छन्।’
आफू शोका केही भागमा मात्र देखापर्ने बताउँदै उनले भनेकी छन्, ‘ केही भागमा म देखापरेपनि सिद्धु आएपछि म जान्छु।’
सहकर्मी सुनील ग्रोवरसँगको झगडापछि कपिलसँगै रहने थोरैमध्येमा सिद्धु पनि एक हुन्।