हम, अग्निपथ, खुदा गवाह।
यी तीन बलिउड फिल्ममा तीन कुरा समान छन्ः अमिताभ बच्चन, मुकुल एस आनन्द र प्रविधि।
तीनै फिल्मका नायक अमिताभ हुन्, मुकुल आनन्द निर्देशक। र, यी तीनैवटालाई आज पनि प्राविधिकरूपले उत्कृष्ट बलिउड फिल्म मानिन्छ।
यसको सम्पूर्ण श्रेयका हकदार मुकुल आनन्द हुन्, जो १९९० दशकमा बलिउडको सीमित स्रोतसाधनका बावजुद प्राविधिकरूपले हलिउड दर्जाको फिल्म बनाउँथे।
सम्झने हो भने मुकुल आनन्दका फिल्म विषयवस्तुका दृष्टिले अब्बल थिएनन्। अझ त्यही समयका अरू निर्देशकसँग दाँज्दा त उनका फिल्मका विषयवस्तु ज्यादै कमसल लाग्छन्।
माथि उल्लिखित फिल्महरू पनि विषयवस्तुका दृष्टिले कमजोर नै मानिन्छन्। यद्दपी, जब जब अमिताभ बच्चनका उत्कृष्ट फिल्मको सूची बन्छ, यसमध्ये कम्तीमा एउटा छुट्दैन।
खासगरी ‘अग्निपथ’, जसमा उनले पहिलोचोटि आफ्नो आवाज बिगारेर फिल्मभरि भारी र खस्रो स्वरमा बोलेका थिए।
बक्स अफिसलाई आधार मान्ने हो भने यी तीनैवटा आफ्नो समयका ‘सुपर हिट’ होइनन्। बलिउडमा जुन समय यी बनेका थिए, त्योबेला प्राविधिकरूपले यस्तो अब्बल फिल्म बनाउने ल्याकत भने मुकुल आनन्दसँग मात्र थियो। उनको प्रविधि हलिउडसँग तुलना गर्न लायक थियो।
[caption id="" align="alignnone" width="853"]
मुकुल एस आनन्द[/caption]
उनै मुकुल आनन्दको एउटा फिल्म थियो, यस्तो फिल्म जुन कहिल्यै पूरा भएन।
समीक्षकहरू भन्छन्, ‘मुकुल आनन्दले त्यो फिल्म बनाउन भ्याएका भए, बलिउडको एक्सन युगले २० वर्षअघि नै अर्कै उचाइ छोइसकेको हुन्थ्यो।’
फिल्म समीक्षकदेखि कलाकारसम्मले सधैं सम्झिरहने मुकुल आनन्दको त्यो अपूर्ण फिल्म हो ‘दस’। सन् १९९७ मध्यतिर मुकुल आनन्दले ‘दस’ को सुटिङ सुरु गरे, जसमा थिए सञ्जय दत्त र सलमान खान।
हिजोआज बलिउडमा खुफिया एजेन्टलाई नायक बनाएर थुप्रै फिल्म बन्न थालेका छन्। सलमान खानले नै ‘र’ एजेन्ट भएर धेरै फिल्म खेलिसके। बलिउडमा यस्ता फिल्म रुचाइएका पनि छन्।
मुकुलले भने २० वर्षअघि नै यो विषय समातिसकेका थिए।
‘दस’ को विषयवस्तु भारतीय खुफिया एजेन्सीका दुई अधिकारी (सञ्जय र सलमान) वरिपरि घुम्छ, जो नशीमन नामका आतंकवादीलाई पक्राउ गर्न गोप्य मिसनमा अफगानिस्तान जान्छन्। यसमा नशीमनको भूमिकामा थिइन्, रवीना टन्डन।
यसअघि ‘खुदा गवाह’ फिल्ममा पनि मुकुलले अफगानिस्तानको पृष्ठभूमिमा काबुलका पठानको प्रेमकथा रचेका थिए, जो आफ्नी प्रेमिकाको निम्ति भारत आउँछन्।
त्यतिबेला सुरक्षा समस्याका कारण मुकुलले नेपालको मुस्ताङ आएर अफगानिस्तानको दृश्य सुटिङ गरेका थिए।
‘दस’ को निम्ति भने उनले पश्चिम अमेरिकी राज्य युटा रोजे। अफगानिस्तान र हाम्रो मुस्ताङजस्तै चारैतिर अग्ला पर्वतले घेरिएको सुख्खा ठाउँको दृश्य त्यो बेला बलिउडका लागि ‘आश्चर्यजनक’ थियो।
उनले त्यसमा हलिउड शैलीका ‘स्टन्ट’ गराएका थिए। फिल्ममा पहिलोपटक शंकर–ईशान–लोयको जोडीले संगीत भरेको थियो, जसका केही गीत फिल्म सुटिङ हुँदाहुँदै नै सुपरहिट भएका थिए।
यो फिल्मबाट धेरैले आशा राखेका थिए, बलिउड एक्सनलाई नयाँ युगमा प्रवेश गराउने। मुकुलको प्रविधि र कथाले एक्सनको उचाइ धेरै माथि पुर्याउनेछ भन्ने अपेक्षा धेरैको थियो।
सबैका आशा र सपना तब टुट्यो, जब यो फिल्म सिनेमा हलसम्म पुग्न पाएन। एक्सनको सम्भावित कोशेढुंगा फिल्म ‘दस’ को सुटिङ पूरा नहुँदै सन् १९९७ सेप्टेम्बर ७ मा मुकुल आनन्द संसारबाट विदा भए। उनको निधन हृदयाघातबाट भएको थियो।
मुकुलको निधनपछि बलिउड स्तब्ध भयो। महत्वकांक्षी फिल्म पूरा गर्ने अभिभारा भने उनकी पत्नी अनीता आनन्दको हातमा आयो।
अनीतासँग फिल्मका कलाकार तथा प्राविधिकहरूको साथ थियो, सुपरहिट गीत थियो र आधाउधि सुटिङका फुटेज थिए। र, थियो फिल्ममाथि सञ्जय र सलमानको अथाह भरोसा।
‘मुकुलले सुटिङ सुरु हुनु दुई वर्षअघि नै स्क्रिप्ट लेखेका थिए,’ मुकुलको निधन भएको २० वर्ष पुगेको सन्दर्भमा भारतीय अनलाइन स्क्रोलडटइनसँग कुरा गर्दै अनीता भन्छिन्, ‘यसका दुई अभिनेताको निम्ति उनको पहिलो छनोट नै सञ्जय दत्त र सलमान खान थिए।’
सञ्जय र सलमानले त्यो पूरा गराउन आफ्नो तर्फबाट खुबै प्रयास गरेको अनीता सम्झन्छिन्।
अमेरिकाको युटामा छायांकन थालिएको यो फिल्म १९९७ अगस्टसम्म ४० प्रतिशत पूरा भइसकेको थियो।
‘यसको सुटिङका लागि अमेरिकी स्टन्ट टोली राखिएको थियो, त्यसबेला बलिउडमा विरलै देखिने महँगा क्यामराहरू उनले प्रयोग गरेका थिए,’ अनीता भन्छिन्, ‘मुकुलले यो फिल्मका लागि यस्ता–यस्ता आधुनिक प्रविधि प्रयोग गरेका थिए, जुन म अहिले सम्झन सक्दिनँ।’
मुकुल जीवित छउन्जेल अनीता यो प्रोजेक्टमा हिस्सेदार थिइनन्। उनी त युटामा सुटिङ हुँदा पनि सँगै गइनन्। जब मुकुलको निधनपछि फिल्म पूरा गर्ने अभिभारा उनको काँधमा आयो, उनलाई लाग्यो मुकुल साँच्चै आफ्नो समयभन्दा अगाडिको फिल्म बनाउँदैछन्।
‘सञ्जय र सलमान यो फिल्मको सुटिङबाट खुबै प्रभावित थिए। उनीहरू जसरी पनि यसलाई पूरा गर्न चाहन्थे,’ उनी भन्छिन्, ‘हलिउडमा ‘मिसन इम्पोसिबल’ बनेको त्यही बेला हो। मुकुलले खिचेका कतिपय दृश्य पछि हेर्दा ठ्याक्कै मिसन इम्पोसिबलको जस्तो थियो।’
मुकुलले गरेका प्रयास सम्झिँदै अनीताले भनिन्, ‘उनले पहाडी पृष्ठभूमिमा कलाकारलाई हेलिकप्टरमा झुन्ड्याएर सुटिङ गरेका थिए। त्यो आजजस्तो हलिउड फिल्मको नक्कल थिएन। उनले यस्तो कठिन एक्सन दृश्य पनि यति सहजतासाथ छायांकन गरेका थिए, जुन हलिउडका निर्देशकले मात्र गर्छन्। बलिउडमा त्यो बेला जुन स्तरका फिल्म बनिरहेका थिए, तीभन्दा दस धेरै कदम अगाडि थियो।’
युटाको सुटिङ सकेर फर्केपछि मुकुल आफैं पनि फिल्मलाई लिएर उत्साही रहेको अनीता बताउँछिन्।
‘उनी फिल्मबारे कुराकानी गरिरहन्थे। सञ्जय र सलमानले त्यति ठूलो जोखिम मोलेर हेलिकप्टर दृश्य दिएको सम्झँदै उनी दुवैको प्रशंसा गर्थे,’ अनीता भन्छिन्, ‘दुवैलाई डोरीले बाँधेर हेलिकप्टरमा झुन्ड्याइएको थियो, तै पनि त्यस्तो दृश्य कम्ती जोखिमपूर्ण थिएन। उनीहरू सुटिङभरि मुकुललाई गाली गरिरहेका हुन्थे रे।’
मुकुलको निधनपछि अनीताले खुबै प्रयास गर्दा पनि फिल्म पूरा गर्न सकिनन्। जब फिल्म अलपत्र पर्यो, पहिल्यै रेकर्डिङ भइसकेका सुपरहिट गीतमार्फत् त्यसलाई ब्युँताउने प्रयास गरियो।
‘गीतहरू अति राम्रा थिए। शंकर–ईशान–लोयले तयार पारेको ‘हिन्दुस्तानी’ भन्ने गीत त पछि निकै हिट भयो,’ अनीता भन्छिन्, ‘आज पनि स्वतन्त्रता दिवस वा गणतन्त्र दिवस बेला यो गीत टेलिभिजनमा प्रसारण हुन्छ।’
मुकुलले यो फिल्मको निम्ति नौ घन्टाभन्दा बढीको फुटेज छाडेर गएका थिए। निर्माताद्वय नितिन मनमोहन र सुनील मानचन्दले तिनै फुटेज र सुपरहिट गीतका आधारमा अन्य निर्देशकसँग कुरा गरे, यसलाई पूरा गर्न। उनीहरूले जेपी दत्ता र प्रियदर्शनलाई फिल्म पूरा गर्न प्रस्ताव राखेको अनीता सम्झन्छिन्।
‘म विद्युविनोद चोपडाले जिम्मा लिएर फिल्म पूरा गरुन् भन्ठान्थेँ, तर पछि कुरा मिलेन। हामीले रमेश सिप्पीलाई पनि प्रस्ताव राख्यौं, तर खासै काम अघि बढेन। समय घर्किंदै गएपछि कलाकारहरूको सुटिङको समय मिलाउन गाह्रो पर्दै गयो, आर्थिक अभाव पनि हुन थाल्यो,’ अनीता भन्छिन्, ‘अन्ततः हामीले फिल्म सधैंका लागि बन्द गर्ने निधो गर्यौं।
उनका अनुसार सञ्जय दत्त र सलमान खानले यो फिल्मलाई जुन समय दिएका थिए, त्यही समय प्रयोग गर्दै नितिन मनमोहनले दुवैलाई लिएर ‘चल मेरे भाइ’ बनाए। यो फिल्म सन् २००० मा रिलिज भयो।
सन् २००५ मा मनमोहनले ‘दस’ नाममा अर्को फिल्म बनाए, जसमा सञ्जय दत्त र शिल्पा शेट्टी थिए।
‘यो दस र मुकुलको दस एकदमै भिन्न फिल्म हो,’ अनीता भन्छिन्, ‘नामबाहेक केही मिल्दैन। मुकुलको दस बनेको भए त बलिउड एक्सनको युग फेरिन्थ्यो, २० वर्षअघि नै अर्कै उचाइ छुन्थ्यो।’