कमेडियन कपिल शर्माले पुनः एकपटक आफ्नो कार्यक्रमको सुटिङ रद्द गरेका छन्। कपिलले भोजपुरी अभिनेता मनोज तिवारीलाई पाहुनाका रुपमा बोलाएका थिए। ‘दी कपिल शर्मा शो’ को भोजपुरी विशेष भागमा उपस्थित हुन तिवारी दिल्लीबाट मुम्बईसम्म आएका थिए।
यसअघि पनि कपिलले शाहरुख खान, अनिल कपुरलगायतका अन्य कलाकारको सुटिङ नगरी फर्काएका थिए। उनी त्यसबेला बिरामी भएका भए पनि अहिले तिवारीलाई फर्काउनुको कारण भने हड्ताल हो।
फेडेरेसन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइजले जारी राखेको हड्तालका कारण सुटिङ रोकिएको हो। यसबारे बोल्दै अभिनेता तिवारीले भनेका छन्, ‘म कपिल शोमा भोजपुरी श्रंखलाका लागि सुटिङ गर्न आएको थिएँ। तर, रद्द भएको भनियो। कामदारको हड्तालका कारण सुटिङ रोकिएको हो।’
सिने इम्प्लोइजको हड्तालले थुप्रै टिभी कार्यक्रम प्रभावित भएको भारतीय समाचारमाध्यमले जनाएका छन्। दुई–तीन दिनअघि मात्र पनि ‘कौन बनेगा करोडपति’ को सुटिङ रद्द भएको थियो।