बलिउड अभिनेता नवाजुद्दीन सिद्दकीको आत्मकथा ‘ऐन अर्डिनरी लाईफ’ अहिले चर्चामा छ। उत्तर प्रदेशको मुजफ्फनगर जिल्लाको एक सानो गाउँ बुढानामा सन् १९७४ मे १९ मा जन्मिएका नवाजका पिता एक किसान थिए। नौ जना भाई बहिनीमध्ये नवाज एक थिए। नवाजको परिवार निकै ठूलो थियो तर आयश्रोत सानो।
उनको बाल्यकाल अभावै अभावमा बित्यो। एउटा गरीब परिवारमा जन्मिएको नवाजले आज बलिउडमा जुन स्थान बनाएका छन् त्यो निकै गर्व गर्न लायकको छ।
उनको आत्मकथाको केही पाना ‘मिड डे डट कम’मा प्रकाशित भएको छ। जसमा नवाजले मुम्बईमा आफ्नो पहिलो प्रेमदेखि लिएर आफ्नो विवाहसम्मको कुरा खुलाएका छन्।
उनले खुलाएका छन् की कसरी उनी सुनिता नाम गरेकी एक युवतीसँग प्रेममा पागल थिए र एकदिन उनी टाढा गइन्। त्यसपछि उनको जीवनमा न्यूजर्सीकी सुजैन आइन्। फेरि, फिल्म ‘मिस लवली’को सेटमा निहारीका सिंहसँग उनको प्रेम सम्बन्ध रह्यो।
मुम्बईमा रहँदा सुनितासँग प्रेम सम्बन्ध रहेको तर करिअरमा असर पर्ने भन्दै सुनिताले उनलाई छाडेर गएको नवाजले उल्लेख गरेका छन्। त्यसपछि उनको प्रेम सम्बन्ध अमेरिकाको न्यूजर्सीकी सुजैनसँग भयो। उनी नवाजसँगै मुम्बइमै बस्न आइन्। फिल्मको शुटिङमा पनि सुजैन नवाजसँगै पुग्थिन्। तर सुजैनको भिसा सकिएपछि उनी अमेरिका फर्किइन्।
त्यसपछि उनले ‘मिस लवली’को सेटमा निहारिकालाई भेटे र दुवै एक अर्कासँग प्रेममा लिप्त भए। तर उनीसँग पनि नवाजको सम्बन्ध लामो हुन सकेन।
यस आत्मकथामा उनले आफ्नो यौन जीवनको बारेमा पनि खुलेर लेखेका छन्।
उनले सुनिता, सुजैन र निहारिकासँग सम्बन्ध बनाएको र आफूले उनीहरूलाई स्वार्थको लागि मात्र प्रयोग गरेको स्वीकारेका छन्। नवाजले आफ्नो आवश्यकता पूर्तिको लागि मात्र निहारिकाको घर जाने गरेको उल्लेख गरेका छन्।
उनको विवाह अन्जलीसँग भइसकेको छ। निहारिकासँग सम्बन्ध टुटेको २ महिनापछि अन्जली उनको जीवनमा आएकी थिइन्।
नवाजले किताबमा आफू सबै प्रेमिकासँग रुठो व्यवहार गर्ने र मिठो बोल्न नजान्ने उल्लेख गरेका छन्। आफ्नो स्वार्थी व्यवहारबाट नै सुनिता, सुजैन र निहारिकाले प्रेम सम्बन्ध तोडेको नवाजले स्वीकारेका छन्।
पूर्व मिस इन्डिया तथा अभिनेत्री निहारिका सिंहले नवाजुद्दीन सिद्दकी आफ्नो आत्मकथा बेच्नको लागि एक महिलाको शोषण र अपमान गरिरहेको आरोप लगाएकी छन्।
उनले मंगलबार नवाजले आफूसँगको प्रेमसम्बन्धको बारेमा दाबी गरिएका कुरामा प्रतिक्रिया दिएकी हुन्।
नवाजले आफ्नो आत्मकथामा आफ्नो र नेहारिका बीचको प्रेम सम्बन्ध साझा गरेका थिए। जसमा निहारिकाले आपत्ति जनाएकी हुन्।
निहारिकाले एक बयान जारी गर्दै आफ्नो र नवाजबीचको प्रेमसम्बन्ध स्वीकार गरेकी छन्। तर उनले जसरी नवाजले बढाइचढाई कुरा प्रस्तुत गरेका छन्, त्यो निकै हाँस्यास्पद भएको बताएकी छन्।
उनले भनिन्,‘नवाज र म सन् २००९ मा फिल्म ‘मिस लवली’को शुटिङको समयमा नजिक भयौं र केही महिना हामी रिलेशनसिपमा थियौं। उनले बेडरुममा मैनबत्तीको प्रकाशले मोहित पार्ने र हाम्रो प्रेम सम्बन्ध सुरू भएको कुरा जसरी किताबमा बयान गरेका छन् त्यो निकै हाँस्यस्पद छ।’
निहारिकाले नवाजले आफ्नो किताब बेच्नको लागि एक महिलाको शोषण र अपमान गर्न तयार भएको आरोप लगाइन्।
नवाजले भने आफ्नो सम्बन्ध लगभग डेढ वर्ष चलेको दाबी गरेका छन्।