नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सोमबारबाट राजधानीमा ‘राष्ट्रिय नाटक महोत्सव २०७६’ आयोजना गर्ने भएको छ।
प्रतिष्ठानले पाँचौंपटक गर्न लागेको यो महोत्सव यसपालि कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजना हुनेछ। सात दिनसम्म चल्ने महोत्सवमा मुलुकका विभिन्न भेगबाट छनौट गरिएका सातवटा नाटक प्रस्तुत गरिने प्राज्ञ एवं अभिनेतृ निशा शर्माले आइतबार जानकारी दिइन्।
महोत्सवको पहिलो दिन सोमबार मुगुको ‘कर्णाली थिएटर कलाकुञ्ज’ समूहले नाटक ‘पम्पा फूल’ प्रस्तुत गर्नेछ। स्थानीय तवरबाटै प्रकाशित लोक कथाहरूको संग्रहबाट तयार पारिएको यस नाटकलाई हिरा बिजुलीले निर्देशन गरेको शर्माले बताइन्।
दोस्रो दिन इटहरीको ‘कलालय’ ले तयार पारेको नाटक ‘ईश्वरलाई चिठ्ठी’ प्रस्तुत गरिनेछ। सुगम दुलालको यस नाटकलाई प्रज्वल पराजुलीले निर्देशन गरेका हुन्।
तेस्रो दिन ललितपुरस्थित ‘मगर अध्ययन केन्द्र’ ले तयार पारेको गीतिनाटक ‘जीवैमामा’ देखाइनेछ, जसलाई भीम मास्की रानाले निर्देशन गरेका हुन्। ललितपुरस्थित संस्थाले तयार पारेको भए पनि यसमा अभिनय गर्ने कलाकारहरू भने स्याङ्जाबाट आउन थालेको शर्माले जानकारी दिइन्।
चौथो दिन फिदिमस्थित ‘क्षितिज नाट्य समूह’ का निम्ति जीवन बरालले निर्देशन गरेको ‘घर भित्रको अर्को घर’ देखाइनेछ। पाँचौं दिन हेटौंडास्थित ‘तरंग साँस्कृतिक परिषद’ का निम्ति उज्वल शर्मा भण्डारीले निर्देशन गरेको ‘अमरसिंहको खोजीमा’ देखाइनेछ। छैठौं दिन गोरखाको ‘रंगकला’ का निम्ति रामबाबु रेग्मीले तयार पारेको ‘विकास भर्सेज निकास’ देखाइनेछ।
अन्त्यमा असार ८ गते सातौं नाटक नेपालगन्जको ‘एम आर्ट थिएटर’को ‘कजरी’ हुनेछ। अवधि भाषाको यस नाटकलाई चिरपरिचित नाट्यकर्मी वीरेन्द्र हमालले प्रस्तुत गर्दैछन्।
‘स्थलगत भ्रमण क्रममा भेटिएका नाट्यकर्मीहरूको प्रस्तुति हेरेका थियौं,’ चयनका आधारबारे प्रष्ट्याउँदै शर्माले भनिन्, ‘राम्रो लागेका नाटकहरूलाई थप परिमार्जन गर्न लगाएर काठमाडौं निम्त्याएका हौं।’
स्थानीय भाषा, मौलिक संस्कृति र स्थानीय तवरमा कार्यरत नाट्यकर्मीहरूलाई उनीहरूको प्रस्तुति देखाउने र आदानप्रदानको अवसर उपलब्ध गराउने हिसाबले महोत्सव आयोजना गरिएको प्राज्ञ एवं अभिनेतृ शर्माले बताइन्।
‘हामीले सकभर हरेक प्रदेशबाट एउटा समूहको प्रतिनिधित्व हुन सकोस् भनेर प्रयत्न गरेका थियौं,’ शर्माले भनिन्, ‘कतै प्रयास गर्दा पनि प्रत्युत्तर नमिल्दा त कतै ढिलो गरेर नाटक पेस गरिएकाले यसपटक समावेश गर्न सकिएन।’
यो महोत्सवमा मैथिली, भोजपुरी र बज्जिका भाषीहरूको क्षेत्र अर्थात् दुई नम्बर प्रदेशबाट कुनै पनि प्रतिनिधित्व छैन। एक नम्बर र तीन नम्बर प्रदेशबाट भने दुई–दुईवटा नाटक समावेश छन्।