पूर्वी नेपालको भोजपुर, सिम्लेमा जन्मिएकी योगमाया महिला आन्दोलनकी अगुवा थिइन्, अग्रणी व्यक्तित्व।
उनीअघि कहिल्यै कसैले संगठित रूपमा महिला मुक्तिको आवाज निकालेन। सिमान्तकृतको पक्षमा, उपेक्षित, उत्पीडित र दमितहरूको पक्षमा आवाज उठाएन। योगमायाजस्तै विद्रोह स्वरूप जलमा प्राण विसर्जन गर्ने हिम्मत राखेन।
यद्यपी, हाम्रो मानसपटलमा योगमाया किम्बदन्ती बनिसकेकी थिइन्। उनको सादगी विद्रोहबारे सायदै पछिल्लो पुस्ता जानकार थियो।
गत वर्ष नीलम कार्की निहारिकाले उनको जीवनको आरोह, अवरोह र क्रान्तिकारी छविलाई आख्यानीकरण गरेपछि उनी फेरि चर्चामा आइन्। उपन्यासले मदन पुरस्कार पाएपछि विस्मृतिमा थन्किसकेकी योगमाया र उनको क्रान्तिकारी कदमहरू धेरैले जान्ने, बुझ्ने र त्यसअनुसार धारणा बनाउने मौका पाए।
अहिले सोही कृतिमाथि आधारित नाटक 'योगमाया' शिल्पी थिएटरमा मञ्चन भइरहेको छ। असार १६ गतेसम्म मञ्चन हुने नाटकमा मिथिला शर्मा योगमायाको भूमिकामा छिन्। यो आख्यानलाई नाटककीय रूप दिएका छन् टंक चौलागाईंले जो आफैं पनि आख्यानकार हुन्।
ऐतिहासिक घटनालाई मञ्चमा उतार्नु आफैंमा चुनौतीपूर्ण छ। विद्रोह बहुआयामिक हुन्छ। मौलिकता यसको अर्को विशेषता हो।
क्रान्ति कहिल्यै सीधा बाटो हिँड्दैन। आम मानिसको जीवन भोगाइभन्दा भिन्न, कौतुहलता र रहस्यले भरिएको हुन्छ। यस्तो गम्भीर विषयलाई आख्यान र नाटकमा ढाल्नु चानचुने होइन। अझ, योगमायाकालीन परिवेशलाई रंगमञ्चमा उतार्नु जटिल कुरा हो।
तत्कालीन पात्र र परिवेश दुवै हाम्रो आँखाबाट पर भइसके। अझ कतिपय दृष्य त कल्पनाभन्दा बाहिरकै कुरा होला।
ऐतिहासिक र युगान्तकारी विद्रोहलाई नाट्यरूप दिन सकेको छ 'योगमाया'ले। योगमायाको जीवन लम्बेतान परिघटना हो। तर, निहारिकाद्वारा लिखित कृतिले त्योभन्दा लम्बेतान बनाइदिएको छ। ठूलो आयतनको किताबलाई एक घन्टा तीस मिनेटको नाटकमा उतार्नु अर्को जोखिम हो। तर, योगमाया नाटकले त्यो जोखिमलाई सहजताका साथ बहन गरेको देखिन्छ।
विक्रम सम्वत १९२४ मा जन्मिएकी योगमाया न्यौपानेले १९९८ साल असार २२ गते सामूहिक जल-समाधीको बाटो रोज्दै लोक त्यागिन्। त्यसअघि १९९५ मा सामूहिक अग्नि समाधीको योजना बनाउँदा २४० जनाले साथ दिने प्रण गरेका थिए।
उक्त अवधीमा समाज सुधारका निम्ति योगमायाले के–कस्ता कदम उठाइन, ती पूरा भए वा भएनन्? समाज सुधारक, अग्रणी महिला, आँटिली भएर पनि किन उनले जल-समाधीको कठोर यात्रा रोजिन्? लगातयत जान्न योगमाया उपन्यास पढ्नु पर्छ, या नाटक नै हेर्नपर्छ।
उपन्यासमा जस्तै नाटकमा पनि योगमायालाई कथाको मध्य भागबाट प्रस्तुत गरिएको छ। मुख्य भाग योगमायाकै भाइ–बुहारी गंगाले सुरू गरेकी छिन्। तर योगमाया कस्तो पृष्ठभूमिकी थिइन्, उनको बाल्यकाल कस्तो थियो, घर परिवार र वैवाहिक अवस्थाका रहस्यहरू भने नाटकले खोल्दैन।
योगमाया बनाउने परिघटनाभित्र किन नाटक पस्न सकेन? नाटकको अन्त्यतिर खट्किने विषय हो।
निहारिकाको पुस्तक नपढेका र यागमायाको नाम मात्रै सुनेका नयाँ पुस्ताका दर्शकका मनमा नाटक किन हेर्ने भन्ने प्रश्न पनि खडा हुन सक्छ। यस्तो अवस्थामा योगमाया नपढेका दर्शकलाई भने नाटकमा अन्त्यसम्म नै दुविधाले लखेटिरहन्छ।
पुस्तकको नाट्य रुपान्तरण भए पनि योगमायाको क्रान्तिकारी कदम कुन विन्दुबाट सुरू भयो नाटक हेरेर थाहा पाउन सकिँदैन। नाटकको एक अनुच्छेद वाचन गरेको भए नयाँ-पुराना दुवै दर्शकले नाटक र योगमायाका समाज सुधारका काम सहजै बुझ्न सक्थे।
नाट्य रुपान्तरणलाई दिग्दारी वा आलस्य हुन नदिन निर्देशक टंग चौलागाईले व्यंग्यात्मक र हाँस्यास्पद संवादको सहायता लिएका छन्। गाउँले परिवेश र अन्यायको सुक्ष्म रुप प्रस्तुत गर्न पण्डितनी बजैको भूमिका, दृष्य र संवादहरूले थप सहयोग गरेका छन्। सेट डिजाइन, भेषभुसा र पूर्वेली लवज यथार्थपरक छन्। यी नाटकका सबल पक्ष हुन्।
यति हुँदाहुँदै पनि इतिहासको पैतालामुनि दबिएर बसेको योगमायाका क्रान्तिकारी कदमहरू योगमाया कृति र नाटक दुवैले व्याख्या गर्न सक्दैनन्। यो यथार्थ लेखक नीलम कार्की निहारिकाले पनि स्विकारिसकेकी छन्। यद्यपी, ऐतिहासिक घटनामाथि रुचि हुनेले योगमाया नाटक हेर्नैपर्छ।