राजधानीकाे मण्डला नाटकघरमा अहिले ‘महाभोज’ चलिरहेकाे छ। एपिक थिएटर शैली, दुई दर्जनभन्दा बढी कलाकार, सशक्त कथा र भव्य अभिनय नाटक ‘महाभोज’का विशेषता हुन्।
‘महाभोज’ राजनीति, प्रहरी र मिडियाको स्वार्थमा सर्वसाधारण कसरी जेलिन्छन् भन्ने सजीव र मार्मिक चित्रण पाइन्छ। निर्देशक अनुप बरालले यही कथालाई नेपाली सन्दर्भमा सशक्त ढंगले उतारेका छन्। निर्देशनको काममा बराललाई सोमनाथ खनालले सघाएका छन्।
निर्देशक बरालले भनेजस्तै, ‘महाभोज’ खराब प्रणाली विरुद्ध लड्न हिम्मत भएका भल्नरेबल र निर्बल आममान्छेको छटपटी, आक्रोश र निराशाको गम्भीर गाथा हो। भारतीय लेखक मन्नु भण्डारीले करिब चालीस वर्षअघि लेखिएको आफ्नै उपन्यास ‘महाभोज’को नाट्य रुपान्तरण गरेकी थिइन्।
नाटकको अनुवाद कवि विप्लव प्रतीकले गरेका हुन्, जो नाटकमा पात्र पनि बनेका छन्।
नाटकमा राजन खतिवडा, सोमनाथ खनाल, बुद्धि तामाङ, सृजना सुब्बा, प्रमिला खनाल, प्रदिप कुमार चौधरी, आर्जेस रेग्मी, सुषमा निरौलालगायतले मुख्य भूमिका निर्वाह गरेका छन्। लामो अन्तरालपछि रङ्मञ्चमा फर्केका रमेश बुढाथोकीले सुन्दर अभिनय गरेका छन्।
दिया मास्केको कोरियोक्राफी रहेको नाटकमा उत्सव बुढाथोकीको संगीत छ। नाटक भदौ १४ देखि असोज १२ गतेसम्म मञ्चन हुनेछ।