पात्रबारे अलिकति कल्पना, अलिकति अध्ययन–अवलोकन। थिएटरमा काम गर्दा होस् वा सिनेमामा, सृजना सुब्बाका अभिनय–सूत्र हुन् यी।
'महाभोज' नाटकमा भने उनको अनुभव फरक रह्यो।
वास्तविक जीवनमा झैं उनी मञ्चभित्र पनि 'प्रेगनेन्ट' महिलाको भूमिकामा छिन्।
हाल मण्डला नाटकघरमा मञ्चन भइरहेको 'महाभोज' भारतीय लेखक मन्नू भण्डारीको नाटकको अनुवाद हो। अनुप बरालले निर्देशन गरेको नाटक विप्लव प्रतीकले अनुवाद गरेका हुन्।
'मूल कृतिमा मैले निर्वाह गरेको भूमिकामा पुरुष पात्र छ। विप्लव दाइ र सोमनाथ खनालको सुझावमा मलाई सुहाउने गरी त्यो पात्रलाई प्रेगनेन्ट महिला बनाइयो।'
यसरी मञ्चमा आफ्नै यथार्थ बाँच्न पाउने अवसर कलाकारले विरलै पाउँछन्। सृजना पनि यसलाई दुर्लभ अवसर मान्छिन्।
'पात्र र मेरो जीवनमा समानता भएपछि पात्रसँगको भावनात्मक सम्बन्ध झनै बलियो बनेको अनुभव भइरहेको छ,' उनी भन्छिन्।
फरक यत्ति हो, मञ्चमा उनी प्रहरी इन्स्पेक्टर तारा चाम्लिङको भूमिकामा देखिन्छिन्। हरेक वर्ष मण्डला नाटकघरका सबै कलाकार मिलेर नाटक खेल्ने अभ्यास पुरानै हो। २८ जना कलाकार सहभागी 'महाभोज' पनि त्यही अभ्यासको सिलसिला हो।
यसरी निर्माण गरिने नाटक मण्डलाका कलाकारका लागि सानोतिनो उत्सव सरह नै हुन्छ। तर मण्डलाकी वर्तमान अध्यक्षसमेत रहेकी सृजनालाई यो उत्सवमा आफू छुट्ने पो हो कि भन्ने डर थियो।
उनकै इच्छाशक्तिले त्यो डर हराएको छ र 'महाभोज'मा सरिक हुन पाएकी छन्।
डाक्टरले आमा बन्न लागेको खबर सुनाएको दिन उनलाई आफ्नो नाम झैं नयाँ सृजना गर्न लागेको महशुस भएको थियो। त्यस बेला उनलाई आफ्नो अवस्थासँगै आफ्नो नाम पनि प्रिय लाग्यो– सृजना।
तर आमा बन्नु सजिलो कहाँ छ र!
गर्भ बसेको सुरूका चार महिना त उनले 'बेडरेस्ट' नै गर्नु पर्यो।
उनी सुनाउँछिन्, 'सुरूका चार महिना निकै गाह्रो भयो। नाटक खेल्ने रहर भए पनि काम गर्न पाउने आश मर्न लागिसकेको थियो।'
घरमा प्रायः दिनभर एक्लै हुन्थिन्। खाली समयमा यसोउसो गर्यो, मोबाइलमा नेट चलाएर बित्ने। धेरैबेर मन लगाएर पढ्नै नसक्ने। उनलाई आफ्नै अवस्थाप्रति टीठ लागिरहेको थियो।
नाटक खेल्न सक्दिन कि भन्ने लागिरहेका बेला उनका श्रीमान् पदम सुब्बाले पनि सोधेका थिए, 'यस्तो बेला खेल्न सक्छौ र?'
तर अभिनयको लत बसिसेकेको सृजनाको मनलाई घुमिफिरी मण्डलाको स्टेजले तानिरहेको थियो। मानसिक दुविधा र शारीरिक कष्टको घानमा परेकी सृजना पाँचौं महिनादेखि अलि तङ्ग्रिन थालिन्।
शरीर गलेको भए पनि मन दरिलो बनाइन् र नाटक खेल्ने निर्णयमा पुगिन्।
डाक्टरले पनि सुझाए, 'धेरै स्ट्रेस नहुने गरी काम गर्दा हुन्छ।'
महाभोजमा अभिनय गरेरै छाड्ने उनको लालसा र जिद्दीका पछाडि अनुप बरालसँगको पुरानो सम्बन्धले पनि काम गरेको थियो।
सृजना अनुपले नेतृत्व गरेको एक्टर्स स्टुडियोकी तेस्रो ब्याचकी विद्यार्थी हुन्। त्यस बेला दयाहाङ राई उनका 'क्लास मेट' थिए। आफ्नो गुरुले निर्देशन गर्ने नाटकमा अभिनय गर्ने अवसर उनी सकेसम्म गुमाउन चाहन्न थिइन्।
'क्लियर भिजन भएको निर्देशक हो उहाँ। धेरै कुरा सिक्न पाइन्छ,' उनले भनिन्, 'ओ स्टार दुनियाँ नाटकपछि अनुप सरसँग काम गर्ने मौका जुरेको थिएन। त्यसैले पनि बल गरेँ।'
साउनको दोस्रो सातातिर रिहर्सल गर्ने समय आयो। प्रायः रिहर्सलका लागि एक महिना समय छुट्याइन्छ, कलाकारका लागि धपेडीको समय हो।
सृजनाको हाँपदाँप सुरू भयो।
गर्भवती भएपछि कामभन्दा बढी आराम गर्ने, समयमा खाना र खाजा खानुपर्ने र दिउँसो सुत्नैपर्ने उनको दैनिकी बनिसकेको थियो।
बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म रिहर्सलमा बिताउनु पर्ने भयो। यसका लागि भक्तपुरबाट अनामनगरसम्म दैनिक धाउनु पनि पर्ने। बिहानै उठेर कसरत गरेर खाजा–पानीका तीन चार वटा पोका बोकेर निस्किन थालिन्।
'प्रेगनेन्सीका बेला खाना नरुच्नु, शरीर भारी हुनु, चाँडै थकाइ लाग्नु स्वभाविक हो,' उनी थप्छिन्, 'मन मात्रै बलियो बनाउँदैमा नर्मल अवस्थाजस्तो हुँदैन रहेछ। गाह्रो त भयो नै।'
रिहर्सल बेला कलाकारहरूले दिनरात लगाएर काम गर्नुपर्ने हुन्छ। सृजना पनि यसै गर्थिन्। तर यस पटक काम गर्दै, आराम गर्दै रिहर्सलको चरण छिचोलिन्। अरु कलाकार होटलको खाना खान्थे। उनले नियमित समयमा घरबाटै लगेको खाइन्।
महाभोजमा उनी इन्स्पेक्टर तारा चाम्लिङ बनेकी छिन्। उनलाई एक जना व्यक्तिको हत्या हो कि आत्महत्या भन्नेबारे सत्यतथ्य पत्ता लगाउन खटाइएको हुन्छ। इन्स्पेक्टर चाम्लिङ संवाद कम बोल्ने, मानसिक रुपमा घोत्लिइरहने जुझारू पात्र हुन्।
यसअघि 'मिस्टर भर्जिन' सिनेमामा इन्स्पेक्टरकै भूमिका निर्वाह गरेको अनुभव छँदै थियो। उनको भागमा संवाद कम भएकाले स्क्रिप्ट हातमा पर्नेबित्तिकै संवाद रट्नेभन्दा अनुसन्धानमा तल्लीन प्रहरीको मनोदशा झल्कने खालका कुरामा बढी ध्यान दिइन्।
स्टेजको तुलनामा वास्तविक जीवनमा धेरै झमेला थिए।
सामान्य अवस्थामा आफैं स्कुटर चलाएर आफ्नै तालिकामा फुक्काफाल भएर हिँड्थिन्।
'गर्भवती भएकोले श्रीमानलाई जहिलेतहिले ल त पुर्याइदिनु भन्नु पर्यो,' यसो भन्दा उनलाई आफू बालकसरह भएको लाग्ने रहेछ।
आफू परनिर्भर बनेको लागे पनि कोटेश्वरको जाम, वर्षा, हिलो र खाल्डाखुल्डी परेको बाटोमा सार्वजनिक सवारी साधनभन्दा श्रीमानकै गाडी रोजिन् उनले।
पेटमा बच्चा आएयता सृजनालाई सधैं पछ्याउने कुरा, 'ला ! वातावरण, खुराक भनेजस्तो भयो कि भएन भन्ने मनको एउटा कुनामा चिन्ता लागिरहने रैछ।'
उनले ध्यान पुर्याउनु पर्ने कुरा पनि कति हो कति। यो गर्न हुने, यो नहुने। बस्दा, उठ्दादेखि खाने बेला पनि बच्चाको फाइदा–बेफाइदा ख्याल गरेर मात्रै गर्नुपर्ने। चर्को घाम, धूलोधुँवादेखि हावापानीबाट समेत बच्नुपर्ने थियो उनलाई।
भन्छिन्, 'आमा बन्नु भनेको साँच्चै संवेदनशील कुरा रहेछ।'
गत सातादेखि नाटक प्रदर्शन सुरू भइसकेको छ। हरेक दिन सुरू हुनुभन्दा एक डेढ घन्टाअघि मण्डला पुग्छिन् सृजना। केही समय थकाइ मेटेर मात्र मञ्चमा छिर्छिन्। आगामी असोज २ गतेसम्म यही उनको दैनिकी हुनेछ।
गर्भावस्था अप्ठ्यारो र पीडादायी हुँदाहुँदै पनि रमाइलो चरण रहेछ। पहिलो पटक आमा बन्न लागेकी उनी उत्साहित हुँदै खुसी साट्छिन्, 'आफूजस्तै मान्छे जन्म दिन लागेको कुराले, के होला, कस्तो होला उत्सुक बनाउनेरैछ।'
पछिल्ला सात महिनामा सृजनाले महशुस गरेको कुरा हो यो।
जतिजति दिन नजिकिँदैछ, सुरूको चरणका सकस भुल्दै गइरहेकी छिन् उनी। आकार बढिरहेको पेट र बच्चाको पहिलो 'किक'को अनुभूति पुरानो हुँदैछ।
अब त ब्याक स्टेजमा अँध्यारोमा बस्दा, ठूलो आवाजमा संवाद बोल्दा, प्रकाशको चमकधमक वा ध्वनिको हल्ला बच्चाले 'सेन्स' गरिरहेको नयाँ अनुभूति बटुल्दैछिन् उनी।
'यस्तो बेला बच्चा उफ्रेको उफ्रै गर्छ,' उनी रमाउँदै सुनाउँछिन्, 'बच्चा उफ्रिँदाको हलचलले पीडासँगै खुसी पनि दिन्छ।'
आमा बन्नु भनेकै पीडासहितको खुसी रहेछ।
मञ्चमा हुँदा होस् वा बाहिर भएको बेला बच्चाबारे कल्पिरहन्छिन्, 'मैले स्टेजमा काम गर्दा उसलाई के प्रभाव परिरहेको होला। भविष्यमा अडियन्स, लाइट, क्यामरा, एक्टिङसँग उसको पनि कनेक्सन होला त?'
'भए त कति जाती हुन्थ्यो। प्रोड्युसर बुबा पनि रमाउँथे होला,' उनका श्रीमान् पदम सुब्बा 'नुमाफुङ'का निर्माता हुन्।
आफ्नो पीडामा हत्तपत्त नरुने सृजना, कहिले शारीरिक पीडा त कहिले पात्रसँगको भावनात्मक लगावको बहानामा 'महाभोज'मा काम गर्दा भने धेरै पटक रोइन्।
'नबोल, तिम्लाई बच्चाहरूको माया लाग्दैन!' नाटकको मध्यतिरको संवाद हो यो। यसले हुरुक्कै हुने गरी छुन्छ उनलाई।
उनी थप्छिन्, 'नाटकमा मनै कटक्क पार्ने अरू पनि थुप्रै ठाउँ छन्, जहाँ गर्भवती भएकैले पात्रसँग बढी कनेक्ट भएँ।'
सामान्यतया कला क्षेत्रमा गर्भवती भएको अवस्था लुकाउने बाध्यता भएको खबर सुन्न-पढ्न पाइन्छ। तर सृजना भन्छिन्, 'यो लुकाउने कुरा हैन। महिलाले मात्र अनुभूत गर्ने प्राकृतिक र गर्वको कुरा हो।'
सृजनाले मण्डला आफ्नै ठाउँ भएकोले आराम गर्दै काम गर्ने सुविधा पाइन्। यस्तो सुविधा सबै कलाकारले नपाउने कुरा उनलाई पनि थाहा छ। महिला कलाकारका लागि अनुहार र आवरणलाई प्राथमिकता दिने अभ्यास नेपालमा मात्रै नभइ बलिउड र हलिउडमा समेत देखिन्छ। करिब दुई दशकदेखि यो क्षेत्रको अनुभव बटुलेकी उनले केही महिला कलाकारले गर्भवती अवस्थामा लुकाएर काम गर्नु परेको बाध्यता देखेकी छन्।
'बच्चा भएपछि प्राकृतिक रुपमा केही समय हराउनु स्वभाविक होला। तर यही कुरालाई महिला कलाकारको योग्यताको मापदण्ड बनाइनु हुँदैन,' उनी आफूलाई पनि अभिनयकै जगमा अघि बढेको कलाकार मान्छिन्।
कला क्षेत्रमा स्थापित हुन सृजनाले संघर्षको लामो यात्रा पार गरेकी छन्। पछिल्लो पटक 'डाइङ क्यान्डल' सिनेमाको कामले केही ठूला पुरस्कार पनि जितिन् उनले।
'माइला डटकम, डिग्री माइला, चरणदास चोर, भजाइना मोनोलग, एन्टिगोनी' आदि नाटक त रंगमञ्च क्षेत्रकै सुन्दर सृजना भइहाले। निर्देशकका रुपमा 'युमा' सृजना गरिसेकेकी छन् उनले।
अब सृजना जीवनमा पनि नयाँ सृजनाको पर्खाइमा छिन्।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी