पढाइको चिन्ता, प्रेमका प्रसंग, साथीसँगीका टिप्पणीदेखि अभिभावकका सुझाव। तन्नेरी पुस्तालाई किशोर अवस्थामा यस्ता अनेक नानाथरिका कुराले तनाव दिइरहेको हुन्छ।
वर्तमान समयमा जीवनका यस्तै नियमित झमेलाबाट भाग्ने माध्यम बनेकाे छ इन्टरनेट। 'गुम्फन' नाटकका पात्रहरु पनि यसरी नै भर्चुअल दुनियाँको शरणमा पुग्छन्। भर्चुअल संसारले क्षणिक राहत दिए पनि उनीहरुको जीवनमा नयाँ जटिलता थपिँदै जान्छन्।
यिनै उकुसमुकुसको कथा हो, 'गुम्फन'।
थिएटर भिल्लेजको प्रस्तुतिमा दिलीप रानाभाटले निर्देशन गरेको 'गुम्फन' फिनिस नाटक रयादेस्सवाराको अंग्रेजी अनुवाद फलिङको भावानुवाद हो। यसलाई जिवेश रायमाझीले नेपालीमा भावानुवाद गरेका हुन्।
नाटकमा संगीता थापा, अद्ववेत अकेला, अभिषेक गैरे, आयुष्ना गिरी, इष्टु कार्की, एचके अधिकारी, गुगल लामा थापा लगायतको अभिनय छ। हाम्रोमा युवा पुस्तालक्षित राम्रो कला साहित्यको खडेरी छ। अनुदित नाटक भएरै पनि युवा पुस्ताका मनोदशा उतार्न सफल छ, 'गुम्फन'।
यसअघि 'सिंहदरबारको टेन्डर' र 'झिमिक झिमिक झ्याप्प' निर्देशन गरिसकेका रानाभाटको काम सराहनीय छ। 'गुम्फन'मा रचिएको भर्चुअल संसार कलात्मक देखिन्छ। नाटकमा मञ्च तथा प्रकाश परिकल्पना विमल सुवेदीले गरेका छन्।
शिल्पी थिएटरमा मञ्चन भइरहेको 'गुम्फन' मंगलबारबाहेक २९ भदौसम्म चल्नेछ।