सरकारी सचिवालय अगाडि बूढो जामुनको रूख ढलेर एक आम मान्छेलाई थिच्छ।
थिचिएको मान्छे निकाल्ने जिम्मेवारी कसैले लिँदैनन्।
कर्तव्य र मानवीय पाखा लगाएर एकपछि अर्कोलाई जिम्मेवारी पन्छाउँछन्। मान्छेप्रतिभन्दा ढलेको बूढो जामुनको रूखप्रति सहानुभूति प्रकट गर्दै अमानवीय हदसम्म पुग्छन्।
कीर्तिपुरस्थित थिएटर मल–कीर्तिपुर रंगमञ्चमा प्रदर्शनरत नाटक ‘जामुनको रुख’ को कथा यसरी अगाडि बढ्छ।
‘जामुनको रुख’ वर्तमान जटिल र विसंगत सामाजिक–राजनीतिक अवस्थाको सपाट कथा हो। पद र शक्तिमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवता लगायतको कथा।
वर्तमान समयमा खोक्रिँदै गएको सरकारी प्रणाली, राजनीतिक व्यवहार र कर्मचारी संयन्त्रमाथिको सिधा व्यङ्ग्य हो। उर्दू र हिन्दी भाषी साहित्यकार कृष्ण चन्दरको कथामा आधारित नाटकलाई रंगकर्मी केदार श्रेष्ठले नाट्य लेखन, परिकल्पना तथा निर्देशन गरेका हुन्।
नेपाली सरकारी कार्यालय, त्यहाँका कर्मचारी र काम गर्ने तौरतरिकालाई दृश्यात्मक कथा भन्दै आममान्छेको निरीह अवस्थालाई नाटकले चित्रण गरेको छ। नाटकलाई सरल र सरस रुपमा मञ्चमा प्रस्तुत गरिएको छ।
‘हरेक सरलताभित्र जटिलता र जटिलताभित्र सरलता कलाको स्वाभाविकता हो। तपाईंको भौतिक आँखाले देखेका दृश्यभन्दा पनि भयानक दृश्य तपाईंको चेतन आँखाले देख्नुभयो भने नाटक अर्थपूर्ण बनेछ भनेर बुझ्नेछु,’ निर्देशक केदार भन्छन्।
‘जामुनको रुख’ नाटक माघ ४ गतेसम्म मञ्चन हुनेछ। नाटकमा शंकर भण्डारी, कञ्चन संग्रौला, मनिष ब्याञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोसन केसी, सरोज राईले अभिनय गरेका छन्।
नाटकसँगै थिएटर मलमा मंगलबारदेखि ‘क्यानभास एट थिएटर’ नामक कला प्रदर्शनी पनि सुरू हुँदैछ। प्रदर्शनीमा विभिन्न विधाका १३ युवा कलाकारहरूका कला प्रदर्शनी हुनेछन्।