रंगमञ्च
करिब एक दर्जन देवदेवी शिल्पी नाटकघरमा नृत्य–नाटकमा देखिँदैछन्।
कुमारी, श्वेतकाली, श्वेतभैरव, असुरराज, ब्रह्मायणी, वैष्णवी, महेश्वरी, इन्द्रायणी, चामुण्डा लगायत देवदेवी शनिबारबाट तीन दिनसम्म प्रदर्शन हुने 'कुमारी' नाटकमा देखिने भएका हुन्।
चर्या गुरु चन्द्रमान मुनिकार र निर्देशक युवराज घिमिरेले काठमाडौंका किम्बदन्तीहरूलाई नाटकमा उतार्ने प्रयास गरेका छन्।
किम्बदन्तीअनुसार शताब्दीअघि काठमाडाैं जलमग्न थियो। मञ्जुश्रीले चोभार डाँडा काटे र नेपाल मण्डल स्थापना गराए। चोभारबाट सम्पूर्ण जीव पानीसँगै बगेर गए पनि कर्कटनाथ बगेनन् र उनको स्थापना टौदहमा भयो। राजा गुणकामदेवले नेपाल मण्डलको सुरक्षाका लागि अष्टमात्रिका स्थापना गरे।
देवीदेवता र असुर नेपालमण्डलमा सँगै प्रवेश गर्छन्। असुरबाट भोटका राजा अमर मल्ललाई आफ्नो राज्य जोगाउन निकै धौधौ पर्छ। उनी मद्दतका लागि काठमाडौं गुजेश्वरी पुकार्छन्। गुजेश्वरीले आफू त्यस ठाउँबाट हिँड्न नमिल्ने भएपछि रुप परिवर्तन गरी भोटलाई मद्दत गर्ने बताउँछिन्।
श्वेतकालीको रुपमा अमर मल्ललाई सहयोग गर्ने कुरा महादेवले चाल पाएपछि उनी समेत श्वेत भैरवको रुपमा परिवर्तन हुन्छन्।
उनीहरूको संगममा कुमारीको जन्म हुन्छ। नेपाल मण्डल जित्न आएका असुरराजको कुमारीसँग प्रेम हुन्छ।
करिब एक घन्टा लामो नाटक दुई महिने एकोहोरो परिश्रमपछि मञ्चन हुन लागेको व्यवस्थापक एवं नाटकमा असुर पात्र पनि बनेका सुदन मुनिकरले जानकारी दिए।
नाटकमा काठमाडाैं मण्डलको स्थापना कथालाई जोड्दै श्वेतकाली र श्वेतभैरवकी सुपुत्री कुमारीको असुरसँग बसेको माया देखाइन्छ।
नाटकमा कुमारीले स्वेच्छाले नै बिहे नगरेको पनि देखाइएको छ। आफ्ना प्रेमी असुरले धोका दिएपछि कुमारीले आफैं बिहे नगर्ने निर्णय लिन्छिन्।
'नरदेवीको बाह्र वर्षे चर्या काठमाडौंकै पुरानो सांस्कृतिक नृत्य मानिन्छ। हामीले नाटकमा चर्यासँगै ब्याले, कन्टेम्पोररी नृत्य पनि मिसाएका छौं,' उनले भने, 'कुमारीको कथा वस्तुमा आधारित नाटक भए पनि कथन र केही परिकल्पना मिसिएको छ। पुरानो कथा परिमार्जनसहित ल्याउन खोजेका छौं।'
पहिलेबाट चलिआएको पुरुषवादी चिन्तन र नारीलाई कमजोर ठान्ने समाजको चित्रण नाटकमा गरिएको छ। महिलालाई देवी मान्ने त्यो बेलाको समाजलाई अहिलेको समाजका कारण नाटकमार्फत देखाउन खोजिएको मुनिकरले बताए।
निर्देशक घिमिरे भने किम्बदन्ती र सांस्कृतिक पक्ष जोडिएको नाटक बिल्कुलै नयाँ भएको बताउँछन्। त्यसैले नाटक बनाउनुअघि खोज, अनुसन्धान र अध्ययन पनि गर्नुपरेको उनले बताए।
सांस्कृतिक नाटक कम बन्ने भए पनि केही समययता विभिन्न समूहले यस्ता नाटक प्रदर्शनमा ल्याइरहेका छन्।
हामीले देख्दै आएको सांस्कृतिक नृत्य र नृत्य–नाटकको भिन्नताबारे बताउँदै उनी भन्छन्, 'नृत्य नाटकमार्फत कथा–किम्बदन्ती बुझाउन सजिलो हुन्छ, जुन एकोहोरो नृत्यबाट सम्भव नहुन पनि सक्छ। नाटकको कथा बुझ्न दर्शकलाई गाह्रो हुँदैन।'
नाटकमा जति सक्दो कम संवाद प्रयोग छ। दर्शकलाई बुझाउन सजिलो होस् भनेर केही संवादले कथा अघि बढेको छ। नाटकबाट पहिले र अहिले कुमारीप्रतिको सोचमा देखिएको भिन्नता प्रस्ट्याउन खोजिएको छ।
तर पनि पहिलोपटक यस्तो नाटक बनाउन लागेकाले निर्देशक घिमिरे आफैं कौतुहल छन्।
'पहिलोपटक सांस्कृतिक कथनलाई नृत्य नाटकमा देखाउने प्रयास गरेको छु। म आफैं पनि दर्शकको प्रतिक्रिया हेर्न आतुर छु,' उनले भने।
नाटकमा सुदन मुनिकारसँगै अनिशा श्रेष्ठ, त्रिणा कुलु, योहाङ राई, रश्मी महर्जन, सृष्टि शाक्य, भागीरथी शाही, नानीमैयाँ महर्जन, सिर्जना शर्मा, सृष्टिना मुनिकार लगायत कलाकारले भूमिका निर्वाह गर्दैछन्।
काठमाडौं महानगरपालिको सहयोगमा नाटक तयार पारिएको सुदनले बताए। उनका अनुसार यो नाटक केही समयपछि 'भिजिट नेपाल २०२०' लाई लक्षित गर्दै विभिन्न ठाउँमा पुनः मञ्चन हुनेछन्।