शैली थिएटरको एघारौं राष्ट्रिय बाल नाटक महोत्सव बुधबारबाट सुरू भएको छ। आठ दिने महोत्सवमा विभिन्न विषयका १७ वटा बाल नाटक देखाइने छन्।
यीबाहेक शैली थिएटरको 'सुनौलो माछा' नाटक पनि प्रस्तुत गरिनेछ।
कार्यक्रमको औपचारिक उद्घाटनमा संस्कृति, पर्यटन तथा उड्ड्यन मन्त्री योगेश भट्टराई विशेष अतिथि थिए। उनले कार्यक्रमको अवसरमा प्रतिभा प्रस्तुतिका लागि पारित नाटकमा केटाकेटी देख्न पाएकोमा खुसी व्यक्त गरे।
त्यस्तै प्रमुख अतिथि रहेका नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति नारायणभक्त श्रेष्ठले आजका केटाकेटीलाई सांस्कृतिक पक्षसँगै नैतिक तथा चारित्रिक शिक्षा बुझाउनु अत्यावश्यक रहेकोमा जोड दिए।
कार्यक्रमको सिलसिलामा नगेन्द्र राई (बाँसुरीवादक) र टोलीले 'राय' प्रस्तुति समेत दिए। आठ दिन लामो बाल नाटक महोत्सव कमलपोखरीस्थित रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरको हलमा हुनेछ। दिनको दुईदेखि तीन वटा नाटक प्रस्तुत गरी महोत्सव माघ २९ गते टुंगिने तालिका छ।
यस वर्षको महोत्सव इसान (इन्स्टिच्युट स्कुल एसोसिएसन नेपाल) र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शैली थिएटरले आयोजना गरेको हो।
महोत्सवमा सहभागी १७ नाटकमध्ये उत्कृष्ट नाटक र रंगकर्मीलाई पुरस्कार व्यवस्था रहेको शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए।
उत्कृष्ट नाटकलाई ७ हजार, उत्कृष्ट रंगकर्मी (बालक)लाई १० हजार, उत्कृष्ट रगंकर्मी (बालिका)लाई १० हजार, उत्कृष्ट निर्देशकलाई ७ हजार, 'इर्मजिङ' रगंकर्मीलाई ५ हजार र दर्शकको रोजाइ (पब्लिक अवार्ड)लाई ५ हजार रूपैयाँ नगदका साथै ट्रफी र प्रमाणपत्र पुरस्कार व्यवस्था छ।
महोत्सवमा हरेक वर्ष विभिन्न विद्यालयबाट केटाकेटीहरूले सहभागिता जनाउँछन्। यस वर्ष महोत्सवमा ३६ नाटकमध्ये १७ नाटक प्रतियोगिताका लागि चुनिएको अध्यक्ष नवराजले बताए। विजेता चयनका लागि निर्णायक टोली गठन गरिएको छ।
'पहिलेभन्दा बाल नाटक क्षेत्रमा धेरै परिवर्तन भएको देखिन्छ। सुरूका वर्ष निकै कम सहभागिता हुन्थ्यो। बर्सेनि सहभागी संख्या बढ्दो छ,' उनले भने, 'बाल नाटक महोत्सवबारे जानकारीपछि थुप्रै निजी विद्यालयले नाटकलाई प्राथमिकता दिएको पाएका छौं।'
उनका अनुसार रगंमञ्च विस्तारका लागि यस प्रकारको परिवर्तनले निकै ठूलो भूमिका खेल्छ। साथै बालबालिकाको व्यक्तिगत विकासमा समेत टेवा पुर्याउन सफल भएको छ।
महोत्सव उद्घाटन नाटकका रूपमा बुधबार शैली थिएटरद्वारा प्रस्तुत 'सुनौलो माछा' देखाइयो। यसका निर्देशक अध्यक्ष नवराज स्वयम् हुन्।
'लोभले लाभ, लाभले विलाप' भन्ने सन्देशमूलक उक्त नाटक ६० मिनेट लामो छ। नाटकका प्रमुख पात्र (सुनौलो माछा) मा करिश्मा के.सी. देखिन्छिन् भने पर्दामा सुवास सुवेदी (बुढा), निमा पान्डे (बुढी), विशाल घिमिरे (महामन्त्री), निर्भीक भट्टराई र शतिश लुइँटेल (सेना) को पात्रमा देखिन्छन्।
'सुनौलो माछा' मा मानिसको लोभ र असन्तुष्टिका कारण हुन सक्ने पतन चित्रण गरिएको छ।
ओडारमा बस्ने दुई बुढा–बुढीको भाग्य सुनौलो माछासँगको भेटेपछि फेरिन्छ। सुनौलो माछाले बुढाले मागेको दिन सक्ने क्षमता बोकेकी हुन्छिन्।
बुढीको माछा राख्ने भाँडाबाट सुरू भएको लोभले महलको महारानी बनाए पनि उनलाई सन्तुष्टि मिल्दैन। अन्ततः समुद्र पूरै राज गरी सुनौलो माछालाई समेत आफ्नो चरनमा ल्याउने सपनाले उनको भएको सुखसम्पत्ति पनि लुटिन्छ।
बुढीको यस प्रकारको लोभको चरम सीमापछि बुढाले समेत उनको पतनपछि धिक्कारेर हिँड्न सक्ने साहस ल्याउँछन्।
'औंला दिँदा डुँडुलो निल्न खोज्ने' प्रवृत्तिका कारण मानिस सुखी हुन नसकेको कथा नाटक मार्फत प्रस्तुत छ।
यो नाटक माघ २९ गते पुनः मञ्चन हुँदैछ।
यसप्रकारको नाटक हेरिसकेपछि बाल मस्तिष्कले समाज बुझ्न अप्रत्यक्ष रूपमा राम्रो भूमिका खेल्ने थिएटरका अध्यक्ष तथा नाटक निर्देशक नवराजले बताए।
'बाल नाटक महोत्सव सुरू गर्दा आजको स्थानसम्म आइपुग्ला–नपुग्ला भन्ने सोचेको थिइनँ,' नवराज एघारौं महोत्सवको उद्घाटनसँगै थप खुसी मिलेको बताउँछन्।
रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरका निर्देशक युलिया एन्द्रशोभाले पनि साहित्य, संस्कृति र कला राज्यको गरिमा झल्काउन नाटकले विशेष भूमिका खेल्ने बताइन्। यो प्रयासमा लागेको शैली थिएटरसँग जोडिन पाउँदा उनले आभार पनि व्यक्त गरिन्।