शैली थिएटरद्वारा आयोजित एघारौं राष्ट्रिय बाल नाटक महोत्सवको दोस्रो दिन, रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरमा 'करेसा कन्सर्ट' देखाइएको थियो।
बिहीबार मञ्चन भएको 'करेसा कन्सर्ट' का लेखक तथा निर्देशक केदार श्रेष्ठले नाटक मार्फत सामाजिक एवम् राजनीतिक पक्ष उतार्न खोजेका छन्।
कीर्तिपुरस्थित राराहिल मेमोरियल स्कुलका कक्षा ७, ८ र ९ का विद्यार्थीले उक्त नाटकमा अभिनय गरेका निर्देशक केदारले जनाए।
रामगोपालको करेसाबारीमा फर्सी, मुला, टमाटर, साग, खुर्सानी, धनियाँ, करेला, प्याज, लसुन, लौका लगायत तरकारी छन्। नाटकका यी सबै तरकारी व्यवहारमा उतारिएका छन्। सबै तरकारी पात्रमार्फत् बोल्न, डुल्न, हिँड्न, ठट्टा र झगडा समेत गर्न सक्छन्।
नाटक तरकारीहरूले नै दिएको आ–आफ्नो परिचयबाट सुरू हुन्छ। योसँगै करेसामा सबभन्दा ठूलो र महत्व बोकेको कुन तरकारी हो भन्ने विषयमा आपसी झगडा र इख देखाइन्छ। करेसाले गन्ने–मान्ने फर्सीसँगको सल्लाहपछि करेसामा प्रतियोगिता हुने कुरा चल्छ।
हरेक तरकारीको आफ्नै विशेषता हुन्छ। महत्व हुन्छ। त्यसैगरी भिन्न–भिन्न गुण समेत हुनसक्ने कल्पनासँगै करेसाका सम्पूर्ण तरकारीमा गुण मिसाएका छन् केदारले।
सधैं ऐना बोकेर हिँड्ने नक्कलमा सिपालू प्याज, फेसबुकमा झुम्मिरहने रातो अनि डल्ली गोलभेँडा, गितारको तार तान्दै आफूलाई शाहरूख खान बताउने रातो खुर्सानी, अल्छी साग, सुन भएको धनीमानी ठान्ने लसुन, झगडामा सिपालू मुला, झगडामा नपर्ने अदुवा, चुलबुले सानी धनियाँ, बुढी काँक्री, सबैले हेप्ने करेला अनि बुढो भुँडे फर्सी।
यी सब तरकारीको व्यहोरा यस्तै हुँदो होला भन्ने कल्पनामा यी पात्र सिर्जना भएको केदार बताउँछन्। केही गुण केदारले केलाएका छन् भने कति रगंकर्मी आफैंले बुनेका उनले बताए।
तरकारीहरूको प्रतियोगिताका लागि करेसाका मालिक रामगोपाललाई निर्णायकमा राख्ने कुरा करेसामा चल्छ। तर करेसाको कुरा करेसामै सीमित राख्ने भन्दै फर्सीलाई निर्णायकमा बसाइन्छ।
नाटकको करेसा प्रतियोगितामा सबै तरकारीले आफ्नो चर्चा गर्नुपर्ने हुन्छ। सबैले आ–आफ्नो फाइदा बताएपछि फर्सीले विजेता सुनाउँदै भन्छन्, 'यस प्रतियोगिताका विजेता सबै!' नतिजामा सबै खुसी हुन्छन्।
पहिले एक आपसमा 'काम छैन' भन्दै कराउने तरकारीहरू पछि सबैको 'काम छ' भन्ने हुन्छन्।
नाटक 'करेसा कन्सर्ट' सबै तरकारीको मेलमिलाप र रमाइलो नाच–गानसँगै टुंगिन्छ।
नाटक केदार श्रेष्ठकै किताब 'करेसाबारीको जडिबुटी' मा रहेको एक कथा हो जसलाई नाट्यशैलीमा प्रस्तुत गरियो।
'यो नाटक दुई दृष्टिकोणबाट हेर्न सकिन्छ,' केदारले नाटकको उद्देश्य खुलाउँदै भने, 'बालबालिकाका लागि तरकारीको महत्व दर्शाउने यो एक सन्देशमूलक बालनाटक हो भने अर्को दृष्टिकोणबाट यो एक राजनीति एवम् सामाजिक नाटक हुन्छ, जहाँ वर्गीय, जातीय र राजनीतिक विभेद देख्न सकिन्छ।'
बाल सहभागितामूलक नाटक र बाल नाटक फरक हुने बताउँदै उनले 'करेसा कन्सर्ट' लाई बाल सहभागितासहित बाल नाटकको दर्जामा राखेका छन्। बालबालिकाले नाटक खेल्दैमा बाल नाटक नहुने उनको तर्क छ। नाटक हेरिसकेपछि राराहिल स्कुलका प्रधानाध्यापक जगत बहादुर महतले हरेक अभिभावकले पढाइलाई मात्र नभइ बालबालिकाको प्रतिभालाई समेत प्रोत्साहन दिनुपर्ने भनाइ व्यक्त गरे।
६० मिनेट लामो उक्त नाटकले भारतमा भएको 'कलकत्ता अन्तराष्ट्रिय नाटक महोत्सव'मा समेत सहभागिता जनाएको थियो। त्यहाँ पनि निकै राम्रो प्रतिक्रिया आएको केदारले बताए।
नाटकका प्रायः दृश्यले दर्शकलाई मरिमरि हसाँउन सफल थियो भने उपस्थित बालबालिकाहरूले नाटक मार्फत निकै ज्ञानमूलक भनाइहरू पनि सिके।
बालबालिकाको विकासमा रगंमञ्चले निकै ठूलो भूमिका खेल्ने केदार मान्छन्। उनका अनुसार बालबालिकाको व्यक्तिगत विकासका लागि मात्र नभइ समाज बुझ्न समेत नाटकले सघाउँछ।
शैली थिएटरका निर्देशक नवराज बुढाथोकीलाई भने नाटकको कथा रोचक लागेको बताए।