शैली थिएटर, रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको एघारौं राष्ट्रिय बाल नाटक महोत्सव समापन भएको छ। आठ दिने महोत्सव गत बुधबारबाट कमलपोखरीस्थित रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरको हलमा भएको थियो।
महोत्सवमा १७ प्रतियोगी नाटक र शैलीको आफ्नै एक अप्रतियोगी नाटक ‘सुनौलो माछा’ गरी १८ नाटक मञ्चन भए। कार्यक्रमको औपचारिक समापन विजेतालाई पुरस्कार वितरणसँगै भयो।
महोत्सवमा विभिन्न ६ विधामा उत्कृष्ट हुनेलाई पुरस्कार स्वरुप शिल्ड, नगद, प्रमाणपत्र र मायाको चिनो प्रदान गरियो। प्रतियोगी सम्पूर्ण बालबालिकालाई भने सामूहिक प्रमाणपत्र वितरण गरियो।
प्रतियोगितामा निर्णायकका लागि निर्देशक एवम् कलाकार देशभक्त खनाल, नाट्यकर्मी सरस्वती चौधरी र पत्रकार एवम् समीक्षक सुशील पौडेल थिए।
कलाकार देशभक्तले नाटकहरूको समीक्षा गर्दै केही कमीकमजोरी रहेको र यसमा निर्देशकको विशेष ध्यान जानुपर्ने बुझाए भने नाट्यकर्मी सरस्वती चौधरीले बालबालिकाको प्रस्तुति निकै राम्रो रहेको बताइन्।
औपचारिक कार्यक्रम सुरू हुनुअघि केही बालबालिकालाई मञ्चमा राखियो र शैली संवाद गरियो। विभिन्न विषयमा सबैले आ–आफ्नो कुरा प्रस्तुत गरे। नाटकका समय भोग्नु परेका केही चुनौतीहरू बुझाए।
कार्यक्रमका संयोजक रंगकर्मी नारायण न्यौपाने थिए।
शैली थिएटर उत्कृष्ट अभिनेता पुरस्कार (बालिका) क्रिएटिभ एकेडेमी कीर्तिपुरकी नुमा लिम्बूले हात पारिन्। उनको प्रस्तुति नाटक ‘आनमया’ मा रहेको थियो।
त्यस्तै स्व. रेश्मीप्रसाद सापकोटा उत्कृष्ट अभिनेता पुरस्कार (बालक) रिलायन्स पब्लिक स्कुलको प्रस्तुतिमा ‘ड्रग्स एब्युज’ मा रहेका सफल बस्नेतले हात पारे। दुवै जनालाई दश हजार नगद, प्रमाणपत्र र शिल्ड प्रदान गरियो।
स्व. चित्रबहादुर बुढाथोकी उत्कृष्ट निर्देशक पुरस्कार लिभरपुल स्कुलद्वारा मञ्चित नाटक ‘टीका’ का निर्देशक आभा शर्मा नेपाल र प्रमिला बि.क.ले प्राप्त गरे भने बृहस्पति विद्यासदन स्कुलको प्रस्तुति नाटक ‘ए क १’ अन्तोंन चेकोभ उत्कृष्ट नाटक पुरस्कारबाट सम्मानित भए। दुवै पुरस्कारमा शिल्ड, नगद सात हजार र प्रमाणपत्र रहेको छ।
बाल–कोसेली प्रोत्साहन पुरस्कार काठमाडौं वर्ड स्कुलको ‘कति पढिस्?’ नाटकका युरोपजंग थापाले प्राप्त गरे।
स्व. रामकेशर बोगटी पब्लिक च्वाइस पुरस्कार भने बृहस्पति विद्यासदन स्कुलको नाटक ‘ए क १’ का अनुप्राश पाण्डे विजय भए। दुवै जना शिल्ड, नगद पाँच हजार र प्रमाणपत्रसँगै सम्मानित भए।
कार्यक्रमको समापन घोषणसँगै शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले आजसम्मका बालनाटकमा सङ्ख्यामा ध्यान गइरहेको भए पनि आगामी बाह्रौं राष्ट्रिय बाल नाटक महोत्सव फरक ढगंबाट प्रस्तुत गर्ने बताए। गुणस्तर साथै विषय–वस्तुमा थप ध्यान दिनेमा उनले जोड दिए।