भर्चुअल नाटक महाेत्सव 'क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६' को अवधि थपिएको छ। एक साताका लागि तय भए पनि लकडाउन बढेसँगै उत्सव अवधि थपिएको हो।
'लकडाउन' मा रंगमञ्चका दर्शकले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यले नाट्य उत्सव सुरू भएको थियो। बिहीबार एक्टर्स स्टुडियोको नाटक 'शकुन्तलाको औंठी' को भिडिओ फेसबुक लाइभमार्फत प्रस्तुत गरेसँगै पहिलो साता समापन भयो।
'हामीले उत्सव सुरू गर्दा एक हप्ताको लक्ष्य राखेका थियौं। त्यो हिजो पूरा भयो। तर लकडाउन थपिएको छ, दर्शकको माग पनि बढिरहेको छ। साथै, उत्सवमा सहभागी हुन चाहने नाटकको संख्या पनि पर्याप्त छ। त्यसैले अर्को सातासम्म लम्ब्याउने निर्णय गरेका छौं,' फेस्टिभल निर्देशक केदार श्रेष्ठले भने।
अर्को साता लाइभ स्ट्रिमिङ गरिने चार नाटक तय भइसकेको श्रेष्ठले जानकारी दिए।
'यो साता बालबालिका लक्षित नाटकमा जोड दिँदैछौं। त्यसैले साताको सुरूआतमा लगातार दुई नाटक बालबालिका लक्षित नाटक देखाइनेछ।'
तालिकाअनुसार शुक्रबार केदार श्रेष्ठको लेखन तथा निर्देशन, थिएटर मलको प्रस्तुति 'उपियाँको निबन्ध' को भिडिओ देखाइनेछ। त्यसैगरी, शनिबार कथाघेरा, कौशी थिएटरको प्रस्तुतिमा आकांक्षा कार्की निर्देशित नाटक 'दयालु रुख' आउनेछ।
आइतबारका लागि सम्पदा मल्लको कथा, अशेष मल्लले नाट्यलेखन र निर्देशन गरेको नाटक 'अर्को कुरूक्षेत्र' देखाइनेछ। सोमबार आरोहण, गुरूकुलको प्रस्तुति नाटक 'एल्ममुनिको तिर्खा'। युजिन ओनिलको लेखन रहेको यो नाटक डेबोरा मेरोलाले निर्देशन गरेकी हुन्।
नाटक आउने क्रम जारी रहेको र त्यसको प्रदर्शन सूची तयार हुँदै गरेको फेस्टिभलका प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले बताए। उनका अनुसार नाटकहरू 'अन्धेरी नगरी चौपट राजा', पपेट प्ले 'टु बि' र 'भोको घर' यसै साता प्रदर्शन सूचीमा छन्। त्यसका लागि मितिक्रम भने तयार भइसकेको छैन। उत्सवमा 'ऊ मरेकी छैन', 'लाटीको छोरो' र 'गर्भछिटा' पनि प्रदर्शनको सूचीमा छन्।
'क्वारेन्टाइन' लाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले विश्व रंगमञ्च दिवस २७ मार्च (चैत १४) बाट उत्सव सुरू गरेको थियो।
साँझ पाँच बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत् नाटकको भिडिओ प्रसारण हुनेछ।
लाइभ स्ट्रिमिङ थिएटर टाइम जस्तै ठीक समयमा हुनेछ र नाटक पछि पुनः हेर्न पाइँदैन।