रंगमञ्चमा नाटक हेर्दा हामी कलाकार र स्टेजको नजिक हुन्छौं। त्यो अनुभूति भर्चुअल अर्थात् फेसबुक लाइभले मेटाउला?
पक्कै मेटाउँदैन।
कोरोना सन्त्रासबीच थिएटर मल, कीर्तिपुर नाटकघर र थिएटर सेन्टर फर चिल्ड्रेनले त्यो चुनौती १६ दिनसम्म आत्मसात् गर्यो। उनीहरूको फेसबुक लाइभ विश्व रंगमञ्च दिवसको अवसर पारेर लकडाउनमा बसेका दर्शकलाई सहज बनाउने अभियानसहित सुरू भएको थियो।
किताब यात्रा फाउन्डेसन पनि सोमबारबाट यो अभियानमा जोडिएको छ।
किताब यात्राले ‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२०’ सुरू गरेको छ। महोत्सवको दोस्रो सत्रमा रंगकर्मी अनुप बराल, सरिता गिरी र केदार श्रेष्ठले ‘भर्चुअल मिडियामा रंगमञ्च’ शीर्षकमा बहस गरेका थिए।
यस सत्रमा केही रमाइला विषय उठे। तीनै जना रंगकर्मी फेसबुक लाइभमा नाटक हेर्दा नाटकघरमा जस्तो नहुनेमा सहमत सुनिन्थे।
रगंकर्मी बरालले नाटकलाई प्रत्यक्ष र स्वतन्त्र विद्या भएको बताए। नाटकघरमा गएर हेर्नुजस्तो भर्चुअल दुनियाँले महशुस नगराउने उनी बताउँछन्।
‘नाटक रचनात्मक ढंगमा प्रस्तुत गर्न आधुनिक उपकरण प्रयोग गर्नु र भर्चुअल संसारमा ल्याउनु दुई अलग विषय हुन्,’ उनले भने, 'नाटकमा स्थान, रंगकर्मी र दर्शकबीच निकट सम्बन्धले मूख्य भूमिका खेल्छ। भर्चुअल मिडियामा नाटक उतार्दा यी तीनबीच नजिककाे सम्बन्ध हुँदैन।'
भर्चुअल मिडियामा नाटक कतिको प्रभावकारी हुन सक्छ भन्नेमा ध्यान पुर्याउन जरुरी रहेको उनले उल्लेख गरे।
रंगकर्मी गिरीले पनि नाटकलाई भर्चुअल माध्यममा देखाउँदा कतिपय घटना छुट्नसक्ने र नाटकघरमा बसेर हेरेजस्तो आनन्द नहुने बताइन्। आफ्नै नाटक ‘ताराबाजी लै लै’ दर्शकका रूपमा हेर्दा फिल्म हेरेजस्तो अनुभव भएको उनले उल्लेख गरिन्।
उनका अनुसार भर्चुअल माध्यम कुनै चिज विज्ञापन गर्न वा कुनै सूचना ठूलो जमातमा पुर्याउन उचित ठाउँ हुन सक्छ। ‘नाटक भनेको नजिकबाट नियाल्ने र महशुस गर्ने कुरा हो। पुराना नाटक हेर्दै जादा मलाई त्यहाँ रहेको बिल्कुल महशुस भएन। चलचित्रका दृश्य हेरेझैं लाग्यो। दर्शकसँगको स्पर्श र उनीहरूको माया मिस गरेँ,’ उनले भनिन्।
भचुर्अल महोत्सको आयोजक भए पनि श्रेष्ठ पनि उनीहरूसँग सहमत थिए। 'म हरेक दिन नाटक सुरु गर्नुअघि भन्थेँ- नाटक भर्चुअल माध्यममा हेर्ने विद्या होइन। अहिलेको समयमा रगंकर्मीहरू दर्शकसँगै छन् भन्ने अनुभूति गराउन यो अभियान चलाएका हौं,' उनले भने।
यस प्रकारको प्रयासलाई अभिलेखका रूपमा राख्न सकिने र प्रचारका लागि भर्चुअल माध्यम प्रयोग गर्न सकिने उनले बताए।
झन्डै एक घन्टा लामो बहसमा भर्चुअल माध्यम अभिलेख र सम्झनाका लागि मात्र उपयोगी भएकोमा वक्ताहरू सहमत थिए। श्रेष्ठले रगंकर्मी एवं अन्य अन्वेषकका लागि ‘थिएटर पुस्तकालय’ बनाउने विचार अघि सारे। रंगकर्मी बरालले २०४१ पछिका नाटकघर सेरोफेरोमा रहेका गतिविधि संगाल्न सकिने बताए।
‘भर्चुअल लिटरेचर फेस्टिभल–किताब जात्रा २०२०’ को पहिलो सत्रमा ‘आख्यानको अभिभारा’ शीर्षकमा आख्यानकारहरू युग पाठक, अमर न्यौपाने र मनिषा गौचनले छलफल गरेका थिए। पहिलो सत्र १ बजे र दोस्रो सत्र ४ बजे भएको थियो।
छलफलहरू किताब जात्राको फेसबुक पेज facebook.com/kitabjatra बाट लाइभ हेर्न सकिनेछ। महोत्सव एक सातासम्म चल्नेछ।
लकडाउनको स्थितिमा सिर्जनशील बनिरहन उत्प्रेरित गर्ने उद्देश्यका साथ महोत्सव सुरू गरिएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले बताए।
‘काठमाडौंमा किताब जात्रा सम्पन्न भएपछि सातै प्रदेशमा जाने हाम्रो योजना थियो। त्यही बेला कोरोना भाइरसको संकट आइलाग्यो। अहिलेको समयमा सिर्जनशील बनिरहन भर्चुअल छलफलले सहयोग पुग्ने देखेर फेस्टिभल गरेका हौं,’ फेस्टिभल निर्देशकसमेत रहेका अधिकारीले भने।