कोरोनाका कारण रंगमञ्च क्षेत्र प्रभावित भएको सन्दर्भमा विभिन्न मागसहित नेपालका सक्रिय नाट्य संस्थाहरूले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छन्।
नेपाली रंगमञ्च सदैव अभिभावक विहिन अवस्थाबाट गुज्रिरहेकाले प्रतिष्ठानलाई अभिभावकत्व ग्रहण गर्न आग्रहसहित नेपालभरका नाटकघर र नाट्य संस्थाहरूको अगुवाइमा ध्यानाकर्षण-पत्र बुझाइएको हो। उनीहरूले ९ बुँदे मागसहितको संयुक्त पत्र प्रतिष्ठानका उपकुलपति हरिहर शर्मासमक्ष बुझाएका हुन्।
ध्यानाकर्षण पत्रमा कोरोना महामारीका समयमा स्वतन्त्र नाट्य संस्थाहरूले नेपाली रंगमञ्चको प्राप्ति जोगाउन अनेक प्रयास गरिरहे पनि सरकारको कानुनी रूपमै गठन भएकाे नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वेवास्ता गरेको गुनासो समेत गरिएको छ।
वर्तमान समयमा रंगकर्मीहरू संकटबाट गुज्रिरहेकाले पलायन हुने अवस्थामा पुग्दै गरेको उल्लेख गर्दै तत्काल यसतर्फ सचेत हुन प्रतिष्ठानलाई रंगकर्मीहरूले आग्रह गरेका छन्।
नेपालका ५० भन्दा बढी सक्रिय नाट्य संस्थाको संयुक्त ध्यानाकर्षण पत्रमा तत्काल राहतमुखी र सिर्जनात्मक कार्यक्रमको पहल गर्न, देशभरको रंगकर्मीको तथ्यांक राख्न, स्वतन्त्र रंगकर्मीको पक्षमा नीति तथा कार्यक्रम ल्याउन, बजेटमा स्वतन्त्र रंगकर्मीप्रति सम्बोधनको पहल गर्न, स्थानीय तहसम्म रंगमञ्चको स्पष्ट भूमिका कायम राख्न माग गरिएको छ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै उपकुलपति हरिहर शर्माले आफ्नो समयदेखि नै नेपाली रंगमञ्चले यस्ता विविध समस्या भोग्दै आए पनि अहिलेसम्म समाधान र सम्बोधन हुन नसकेको स्वीकारेर ध्यानकर्षण पत्रको स्वागत गरेका छन्। उनले महामारीबाट रंगकर्मीहरू निकै प्रभावित भएको भन्दै यसको समाधानको उपाय खोजी भइरहेको जनाए।
ध्यानाकर्षण पत्रका बुँदाहरू अध्ययन गरी पहलको थालनी गर्ने आश्वासन पनि उनले दिएका छन्।
ध्यानाकर्षण पत्र बुझाउन थिएटर हबको संयोजनमा देशभरका सक्रिय नाट्य संस्थाको सहभागिता र समर्थनमा काठमाडौंमा रहेका नाटकघरसहितको नाट्य संस्थाका प्रतिनिधि तथा स्वतन्त्र रंगकर्मीहरू बिहीबार प्रतिष्ठान पुगेका थिए।