जुनुमाया सोझी छिन्। गाउँमा घाँसदाउरा र चुलाचौकामा जीवन काट्न बाध्य १९ वर्षीया जुनु आफ्नो समाजको अवस्था बदल्न चाहन्छिन्। चाहना भए पनि उनलाई गाउँ-समाजले बाटो छेकेको छ।
तर एकदिन निश्चित अठोट र दृढ संकल्पपछि जुनु गाउँबाट भाग्छिन्। दिनभरिको उकाली-ओरालीपछि बसपार्क पुग्छिन्। साँझ भइसकेकाले गाडी छुट्छ। उनी भोलिपल्ट बिहानै ड्राइभर माइलाको गाडीमा जाने निधो गर्छिन्।
गाडी बिहान मात्र जाने भएपछि राति कता बस्ने भन्ने अलमल हुन्छ। त्यस्तैमा उनलाई बसपार्कमै भेटिएका जेम्सले राम्रो होटलमा राख्ने भन्दै होटल पुर्याउँछन्। होटलका साहु धनमान ग्राहक पाएर मख्ख हुन्छन्। जुनु त्यो रात कोठा नं १३ मा बस्छिन्। त्यही होटलमा काम गर्ने कान्छासँग उनको भेट हुन्छ।
बेलुकातिर जुनुमाया बसेकै होटलमा ड्राइभर माइला र जेम्स पनि पुग्छन्। जुनुलाई देखेदेखि नै माइलाले उनीमाथि कुदृष्टि राखेका हुन्छन्। बेलुकाको खानापछि माइला जबरजस्ती जुनुको कोठामा जान खोज्छन्।
यत्तिकैमा नाटक 'रूम नं १३' रोकियो।
अनि मञ्चमा सूत्रधारका भूमिकामा रहेका रंगकर्मी सोमनाथ खनाल प्रस्तुत भए। उनले दर्शकसामु फर्किँदै प्रश्न राखे, 'यस्तो अवस्थामा जुनुमायाले के गर्न सक्छिन्? उनी ड्राइभर माइला, जेम्स र अन्य पात्रसँगको भेटको सामना कसरी गर्न सक्थिन्? कसले उनलाई कसरी सघाउन सक्छन्?'
मण्डला ड्रामा स्कुलको पहिलो ब्याचका विद्यार्थीले मञ्चन गरेका तीन कचहरी नाटक श्रृंखला 'हाम्रो नेपालमा'मध्येको एक नाटक हो 'रूम नं १३'। मण्डला नाटकघरमा योसँगै नाटक 'निसास्सिएको आवाज' र 'अन्तर' मञ्चन भएको थियो।
कचहरी शैलीको नाटक विशेषगरी थिचोमिचो, हेपाइ र पेलाइमा परेका अनुभव समेटेर तयार पारिन्छ। नाटक समस्यामा गएर रोकिन्छ। र, दर्शकबाट समस्या समाधान कसरी गर्न सकिएला भन्ने अपेक्षा राखिन्छ। परम्परागत नाटकभन्दा छोटा हुने कचहरीको कथा चरम बिन्दुमा पुगेर रोकिन्छ। त्यसपछि दर्शकसँग अन्तर्क्रिया सुरू हुन्छ। दर्शकहरूले समस्या समाधान गर्न अपनाउन सक्ने विकल्प आफैं मञ्चमा गएर प्रस्तुत गर्छन्।
'सामान्यतया परम्परागत थिएटरमा दर्शक आएर कलाकारको नाटक हेर्नुहुन्छ। केही सन्देश लिनुहुन्छ र जानुहुन्छ,' सोमनाथ भन्छन्, 'तर यसप्रकारको नाटकमा दर्शकको सहभागिता आवश्यक पर्छ। त्यसैले यो सहभागितामूलक रंगमञ्चअन्तर्गत पर्छ।'
कचहरीलाई फोरम-नाटक पनि बुझिन्छ। यो कुनै कल्पनाको कथामा बनाउन सम्भव छैन। विद्यार्थीले घर-परिवार र समाजमा देखेका मुद्दा, भोगाइ र समुदायका वास्तविक कथा लिएर तयार पारिएको सोमनाथ बताउँछन्।
फोरम नाटकले कलाकार र दर्शकबीच हुने भिन्नताको सोच चिर्ने काम गर्छ। सोमनाथका अनुसार हरेकमा कला प्रस्तुत गर्नसक्ने क्षमता हुन्छ भन्ने यसप्रकारको नाटकबाट बुझाउन सकिन्छ। उनी भन्छन्, 'फोरम नाटकको शक्ति भनेकै दर्शकक सशक्तिकरण गर्नु हो।'
यसको अवधारणा सन् १९६० दशकमा ब्राजिलका निर्देशक अगस्टो बोयलले भित्र्याएका हुन्। समाजमा केही नौलो र समाज रूपान्तरणमा नाटकले खेल्न सक्ने भूमिका खोज्दै जाँदा निर्देशक बोयलको ध्यान परम्परागत शैलीभन्दा भिन्न, फोरम थिएटरमा पुग्यो।
'परम्परागत नाट्य शैलीमा कथाको समस्या समाधान कलाकार आफैंले दिन्छन्। तर त्यसबेला बोयललाई समस्या जसको हो, उसैसँग समाधान हुन्छ भन्ने लाग्न थाल्यो। समस्या दर्शकलाई पर्दा के गर्छन् र कसरी समाधान निकाल्छन् भन्ने बुझ्न उनले दर्शकसँग अन्तर्क्रियात्मक नाटक शैली, फोरम नाटकको अवधारणा विकास गरे,' सोमनाथले फोरम नाटकको इतिहासबारे भने।
यही नाट्य शैली नेपालमा झन्डै दुई दशकअघि सुरू भएको हो। त्यसबेला आरोहण गुरूकुलले कचहरी नाटक अभ्यास सुरू गरेका थिए। सोमनाथ आफूले गुरूकुलबाटै यसप्रकारको नाटक सिकेको बताउँछन्।
'परम्परागत नाटक व्यावसायिक हिसाबमा हेरिन थाल्यो। नाटकमार्फत सामाजिक, राजनीतिक कथा, बेथा पनि प्रस्तुत गर्न सकिन्छ। त्यसमा पनि दर्शकको धारणा र बुझाइ अन्वेषण गर्न सकिने शैलीको नाटक कचहरी हो,' सोमनाथ भन्छन्, 'त्यसैले कचहरीलाई प्राथमिकता दिइरहेका छौं।'
काठमाडौंमा कम हुँदै गएको कचहरी नाटक वर्षमा एकपटक भए पनि प्रस्तुत गर्ने योजना मण्डला स्कुलको छ। यसबाट दर्शकले पनि यस्ता नाटकबारे बुझ्ने मौका पाउनेछन्। गत वर्ष पनि मण्डला नाटकघरमा तीन कचहरी नाटक श्रृंखला 'आइ क्यान' मञ्चन भएको थियो।
नेपालमा नाटक स्कुल अभाव खट्किएपछि मण्डला नाटकघरले झन्डै डेढ वर्षको पाठ्यक्रमसँगै गत वर्षदेखि ड्रामा स्कुल खोलेको हो। पहिलो ब्याचका निम्ति १६१ आवदेक थिए जसमध्ये अहिले ८ पुरुष र ८ महिला गरी १६ जना नाटक पढाइ र अभ्यास गर्दैछन्।
'हाम्रो प्राथमिकता सामाजिक समावेशीकरण हो। भौगोलिक, जातीय र लैंगिकताका हिसाबमा समावेश गर्ने सोच थियो,' सोमनाथ भन्छन्, 'तर यसपालि अल्पसंख्यक समुदायबाट आवदेन परेन।'
यिनै कलाकारले तीन साताको कार्यशालापछि कचहरी नाटक श्रृंखला 'हाम्रो नेपालमा' मञ्चन गरेको सोमनाथ बताउँछन्।
उनी भन्छन्, 'फोरम नाटकले दर्शकको बौद्धिकतामा विश्वास गर्छ। दर्शक र कलाकारबीच एक किसिमको सन्तुलन ल्याउने प्रयत्न गर्छ। त्यसैले यस प्रकारको नाटकमा पनि हामी जोड दिँदैछौं।'