तीनवटा स्प्लिट स्क्रिनमा पात्रहरू चर्काचर्की गर्दैछन्। पात्रहरू हुन्ः आजाद, अभिलाषा र इच्छा।
नामहरूमै कस्तो तादम्यता! तर त्यतातिर एकैछिनमा। यी तीन पात्रहरूलाई क्रमशः सलिल सुवेदी, पवित्रा खड्का र उषा रजकले जीवन्त बनाइरहेका छन्।
तीनै कलाकारहरू आ-आफ्ना घरको कोठामा अभिनय गर्दैछन्, क्यामरा र कम्प्युटरका अघि। एकअर्काको भौतिक उपस्थिति बिना। तर उता लगभग ३०० को संख्यामा उपस्थित भएका दर्शक भने एउटै नाटक हेर्दैछन्– अनुपस्थित तीन।
यो परिदृश्य भर्खरै मात्र शिल्पी थिएटरले मञ्चन गरेको नाटकको हो। प्रख्यात फ्रान्सेली दार्शनिक तथा नाटककार जाँ–पल सार्त्रको नाटक ‘नो एक्जिट’ लाई अवतार पाठकले नेपालीमा अनुवाद गरे, घिमिरे युवराजले यसको परिकल्पना र निदेर्शन गरे, र रंगसंस्था शिल्पीले यसको मञ्चन गर्यो।
आम दर्शकका लागि भनि तयार गरिएको यो नाटक सम्भवतः नेपालकै पहिलो भर्चुअल नाटक हो। विशुद्ध रंगमञ्चले प्रविधिलाई अंगालेर गरेको एउटा नवीन प्रयोग पनि हो यो। हुन त यस्तो कृत्रिम लाग्ने विधिबाट सम्प्रेषण गरिएको विषयवस्तुलाई नाटको नाम दिन मिल्छ र भन्ने प्रश्न पनि उठ्ला। यस्तो प्रश्न उठ्नु जायज पनि हो, उठ्नु पनि पर्छ र उठिरहेका पनि छन्। तर यो लेख त्यतातिर जाँदैन, बरू नाटक अनुपस्थित तीनतिर नै फर्किन्छ।
आजाद, अभिलाषा र इच्छा यस नाटकका प्रमुख पात्रहरू हुन्। उनीहरू मृत्युपश्चात भर्खरै नर्कको कैदमा छिरेका छन्। यी तीनैलाई सँगै एउटै कैदखानामा राखिएको छ। किन सँगै राखिएको छ? हामीलाई थाहा छैन; पात्रहरूलाई पनि थाहा छैन।
खासमा उनीहरू यो ठाँउको अवस्था र प्रक्रिया देखेर नै अचम्मित छन्। भन्ने बेलामा पापीहरूलाई सजाय दिने क्रुर ठाउँ रे, तर यहाँ न भकभक उम्लिएको तेल छ, न कुनै झिर, र न सजाय दिने जल्लाद। उल्टै यो ठाउँ त उज्यालो, सेतो, चित्र र मूर्तिकलाले भरिएको छ।
तीन जना बस्नका लागि कुर्सीको पनि व्यवस्था रहेछ। विचित्रको यो यातना गृहको कक्ष नै नाटक अनुपस्थित तीनको लागि मञ्च भइदिएको छ। यी तीन अपरिचित पात्रको मृत्युपूर्वको रहस्यात्मक घटनाक्रम र उनीहरूको मृत्युपछिको पश्चाताप र प्रतिरक्षात्मक विलापको रस्साकस्सीमै नाटकको सार अडिएको छ।
यो परिवेशमा उभाइएका तीन पात्र आफूलाई चोख्याउन हरदम प्रयासरत छन्। आफ्नो छवि, व्यक्तित्व र जीवनमा आफूले गरेका निर्णय र कर्मको बचाउ गर्दैछन्। आफूलाई उत्कृष्ट देखाउन उनीहरू कति व्यग्र भइरहेका छन् भन्ने कुराको हेक्का उनीहरूलाई किञ्चित छैन। एकअर्काको कथामा संशय खोज्न, नियतमा खोट देखाउन र अरूको मर्मलाई अवमूल्यांकन गर्न उनीहरू अभ्यस्त हुँदै जान्छन्।
आजादलाई आफ्नो क्रान्तिकारी प्रतिबिम्ब पछाडि लुकेको पाखण्डको बोध हुँदैन। अभिलाषा आफ्नो अपूरो भोगलिप्सालाई स्वच्छन्द प्रेमको आडम्बरमा ढाक्न खोज्छिन्। र इच्छा निरन्तर आफ्नो रूप र बाह्य सौन्दर्यको दम्भमा मग्न हुन्छिन्। यी पात्रहरू आफूलाई जति पूर्ण देखाउन खोज्छन्, त्यति नै यिनको खोक्रोपन झन् परिस्किृत भएर हामी माझ आउँछ। र जब कथाको बीच यी पात्रहरूले मर्त्यलोकको वर्तमानलाई नियाल्ने मौका पाउँछन् तब यिनीहरू एकाएक विचलित हुन थाल्छन्।
हिजोसम्म आफूनिकट भई बाँचेकाहरूलाई आज आफ्नो अनुपस्थितिले फरक नपारेको देख्दा कैदखानाका यी पात्रलाई औडा हुन्छ। आरिस, घृणा र कटुताले उनीहरूको मन भरिन्छ। नर्कको कैदखानाबाट चिच्याउँछन्, धिक्कार्छन् र सराप्छन्। तर तल कसैले उनीहरूको छटपटाहट सुन्दैनन्। र यहाँबाट सुरू हुन्छ पात्रहरूको मृत्युपूर्वको रहस्योदघाटन।
आजाद, अभिलाषा र इच्छा तीन फरक पात्र भइकन पनि एकै व्यक्तिका तीन आयाम र प्रतिविम्ब झैं लाग्छन्। वेविचार, दुर्व्यसन र अपराधले झल्किएका। उनीहरूलाई गहिरो ग्लानी छ, आफूले गरेका कुर्कमप्रति। र अल्पायूमै जीवन त्याग्नुपरेको पश्चाताप र अधुरोपन पनि उनीहरूमा चुलिएको छ।
यति हुँदाहुँदै उनीहरू अहंकारी र स्वार्थी देखिन्छन्। यो उनीहरूको मानवीय स्वभावको चित्रण हो। मरणोपरान्त पनि आफूबाट त्याग्न नसकेको मानवीय अवगुण। नाटकले नर्कको परिकल्पनालाई फरक तरिकाले परिभाषित गरेको छ। कहाली लाग्दो अँध्यारा गल्लीहरू, यातनाका चित्कारहरू, रौद्ररूपी जल्लादहरू र तातो तेल नर्कको चारित्रिक विशेषता होइनन्। असली नर्क त हामी माझ नै छ, हामी आफैंभित्र। स्वतन्त्रता, अभिलाषा र इच्छाको गलत व्याख्या र दुरुपयोगभित्र नर्क बसेको छ। हामीले पालेका घमण्ड, घोलेका घृणा र पुर्याएका पीडाहरूमै नर्क छ। सायद त्यसैले नै होला आजाद, अभिलाषा र इच्छा एकअर्काको लागि यमदूत बन्न पुगेका छन्। नाटकको मूलभाव यतैकतै लुकेको हुनुपर्छ।
नाटक अनुपस्थित तीन एउटा रचनात्मक प्रयोग हो, यसमा फरक मत छैन। क्यामरा, कम्प्युटर र इन्टरनेटको संगमले सम्भव बनाएको यो प्रस्तुतिले भर्चुअल रंगमञ्चको विभिन्न आयाममा महत्वपूर्ण प्रकाश पारेको छ।
सुरुमा कुरा गरौं निर्देशनको। नाटक अनुपस्थित तीनको जन्म भर्चुअल रंगमञ्चको परिकल्पनामा भएको होइन। निर्देशक घिमिरे युवराजले यसलाई सामान्य भौतिक रंगमञ्चको अवधारणामा नै उतार्न खोज्दै थिए। यसको पूर्वाभ्यास पनि त्यही अनुरूप चल्दै थियो। तर जब सिंगो देश एकाएक दोस्रो लकडाउनमा छिर्यो, यसको भौतिक मञ्चन अनिश्चितकालका लागि सम्भव भएन।
यसरी एउटा ढाँचामा हुर्काउँदै गरेको नाटकलाई विलकुलै फरक, त्यसमाथि उच्च जोखिम भएको भर्चुअल माध्यममा रूपान्तरण गर्नु ठूलो चुनौती हो। यस कारण निर्देशक र रंगसंस्थाको यो कोशिस सराहनीय छ। नाटकको भर्चुअल मञ्चनमा निर्देशक घिमिरेले अपनाएका केही निर्देशकीय अभ्यास भने देख्न पाइन्छ।
प्रस्तुतिलाई केन्द्रमा राखेर हेर्दा पात्रहरूको 'मुभमेन्ट' र 'ब्लकिङ' न्यून देखिन्छ। पात्रहरू तीन-चारवटा मुख्य स्टेज पोजिसनमा रहेरै नाटक अवधिभर अभिनय गर्छन्। यसो गर्नाले स्थिर क्यामराको सीमित दायराभित्र पात्रहरू पूर्णरूपले कैद हुन पाउँछन्।
घिमिरेले क्यामरा फ्रेमको सीमारेखाको भागलाई पनि रचनात्मक ढंगले प्रयोग गरेका छन्। नाटकका पात्र आजाद र इच्छाको चुम्बनको दृश्य यस प्रयोगको एउटा उदाहरण हो।
नर्कको कैदखानाबाट पृथ्वी नियाल्ने क्रममा पात्रहरू क्यामराको नजिक आएर लेन्ससँग आँखा जुधाउँछन्। दर्शकलाई सोझै आँखामा हेरेझैं। यहाँ निदेर्शकको अर्को अभ्यास देखिन्छ। एकातिर यो अभ्यासले विम्वात्मक रूपमा मरेका पात्रको पृथ्वीसँगको सम्बन्धलाई प्रस्ट्याउँछ भने अर्कोतिर नाटकको कोरियोग्राफीमा एउटा अलग शैली भित्र्याउँछ।
नाटकले अपनाएको साधरण तथा मितव्ययी मञ्च परिकल्पनाले पनि अर्थ राख्छ। यसले प्रस्तुतिलाई जटिल हुनबाट जोगाउँछ। तीनवटा फरक स्क्रिनले एउटै मञ्चको संरचनालाई झल्काउने भएकाले थोरै 'प्रप्स' उपयुक्त देखिन्छ। त्यसमाथि सेतो भित्ता र कलाकारको कालो पहिरनले रङ संयोजनलाई सरल राखेको पाइन्छ। हुन त कालो पहिरनले पात्रहरूको चारित्रिक व्याख्या पनि गरेको होला। मरेका पात्रहरू हुन्, त्यसैले पो कालो आवरण भिरेका हुन् कि?
नाटकको परिकल्पनामा यति हुँदाहुँदै एउटा दर्शकलाई यसको विशुद्ध रसस्वादन गर्न भने गाह्रै पर्छ। कारण हो यसको भर्चुअल मञ्चन। नेटवर्कमा आउने क्षणभरको सुस्तताका कारण पनि भावनात्मक सम्प्रेषणमा असर पर्न जान्छ। खासगरी ती दृश्यहरू जहाँ पात्र एकआपसको सामीप्यमा आई अभिनय गर्छन्; अनुभूतिहरूलाई भावभंगीबाट उतार्न खोज्छन्।
यी क्षणहरूमा मानवीय संवेदनाहरू यान्त्रिक प्रभावभित्र ओझेलमा पर्छन्। बेलाबखतमा बज्ने पार्श्वसंगीतले यो कमीलाई परिपूर्ति गर्न खोज्छ तर झन् उल्टो असर गर्छ। कलाकारहरूको संवादसँग ध्वनी यसरी मिसिन्छ कि दुवै बुझ्न कठिन हुन्छ। अन्तिममा बज्ने गीत भने अपवाद हो। त्यो प्रस्टसँग बुझिन्छ र त्यसले नाटकलाई कलात्मक अन्त्यमा ल्याउँछ।
इन्टरनेटको सुस्तताले दृश्यको गुणस्तर पनि कम गराउँछ। स-साना तीन वटा स्क्रिन, त्यसमाथि भिडिओ क्वालिटीमा घटबढ हुँदा कलाकारको मुखाकृतिसँग जोडिन दर्शकलाई सहज हुँदैन। यी सबै बाधा अड्चन नाटक र प्रस्तुतिभन्दा त्यसको सम्प्रेषणको माध्यमसँग गाँसिएका पाटा हुन्। नाटक हेर्नुअगावै धेरैलाई यी समस्या अपेक्षित थिए होलान्। त्यसैले त नाटक अन्य हुँदासम्म लगभग २५० दर्शक अझै नाटकसँग जोडिइरहेका थिए, कमेन्ट बक्समा आफ्ना तात्तातो प्रतिकृया दिँदै। यसलाई अर्को सुन्दर र सबल पक्षको रुपमा लिनुपर्छ।
तर नाटकको सबभन्दा बलियो पक्ष, यसको धरोहर, तीन प्रमुख पात्र नै हुन्। मतलब, यी पात्रलाई उतार्ने कलाकारहरू। एक त टेक्स्ट बेस्ड नाटकको संवादको भार, त्यसमाथि एकल प्रस्तुति गर्नुपर्ने, अझ त्यसमाथि पनि भर्चुअल्ली नै आफ्ना सहकर्मीहरूसँग टाइमिङ र रिदम मिलाउनु पर्ने। यस्तो अपत्यारिलो परिस्थितिलाई पनि आत्मसात गर्दै जसरी यी कलाकारले आफ्नो भूमिका निर्वाह गरे, त्यो आफैंमा निकै तारिफयोग्य कुरा हो। र सायद नेपाली रंगमञ्चमा बनेको एउटा नजीर पनि।
चौतर्फी आक्रान्त पारिरहेको यो कोभिड–१९ को विषम परिस्थिति जब सुस्ताउँछ, नेपाली रंगमञ्चले फेरि पनि आफ्नो गति पहिल्याउँछ। बन्द प्रोसिनियमभित्र नाटकको जादुयी स्वाद लिन र यसको गुरुत्वाकर्षणमा समर्पित हुन दर्शकहरू लामबद्ध भएर उभिन्छन्। त्यसपछि यो भर्चुअल रंगमञ्चको भविष्य के होला, त्यो अहिले यकिन लगाउन नसकिएला।
तर वर्तमानको समयमा भर्चुअल रंगमञ्च एउटा प्रयोग बन्न सक्छ। समग्र रंगमञ्चका लागि अभिव्यक्तिको एउटा बाटो बन्न सक्छ। रंगअध्ययनमा लागेकाहरूलाई अभिलेखालय बन्न सक्छ। रंगसंस्था र रंगकर्मीका लागि प्रेरणाको संरचना बन्न सक्छ। शिल्पीले भरखरै मञ्चन गरेको यो नाटक त्यही वृहत संरचनाको बुनियादी इँटा बन्न सक्छ।