मण्डला थिएटरले अब नयाँ भवनमा नाटक मञ्चन गर्ने भएको छ।
बिहीबार थापागाउँमा एक कार्यक्रम गरी नाटकघरले आफ्नो नयाँ भवनको औपचारिक उद्घाटन गरेको हो।
१२ वर्षअघि स्थापना भएको मण्डलाको नयाँ भवनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका हुन्। उद्घाटन भएको नयाँ भवनमा क्याफे, कलाकारको लागि निवास तथा सुविधासम्पन्न पार्किङसहित दुई सय सिट क्षमताको छ।
कार्यक्रमा बोल्दै उपराष्ट्रपति पुनले नाटकलाई साहित्यको सर्वाधिक लोकप्रिय माध्यम भएको बताए।
उनले नेपाली नाटकले समाजमा रहेको अन्धविश्वास, कुरीति र विकृति र विभेदहरूलाई उदांगो पारेर अग्रगामी विकासका लागि प्रमुख प्रेरक माध्यम बन्न सकेको बताए।
नयाँ भवनमा बालबालिकाको लागि छुट्टै २०० सिट क्षमता छ। मण्डलाले लामो समयदेखि नाट्य प्रशिक्षण कार्यक्रम ‘थिएटर ल्याब’ गर्दै आएको छ।
थिएटर ल्याबका आठौं ब्याचका विद्यार्थीहरू सम्मिलित कलाकारहरू मिलेर उद्घाटनमा 'रोगन' नाटक मञ्चनगरे। यस नाटकको नियमित मञ्चन भने फागुन २० देखि हुनेछ।