लेखक नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ आगामी वैशाख ९ गतेबाट मञ्चन हुने भएको छ।
नाटकको निर्माण पक्षले मंगलबार पहिलो पोस्टर सार्वजनिक गर्दै नाटक मञ्चनको मिति तय गरेको हो।
गत वर्षनै प्रदर्शन गर्ने भनिएको नाटक ‘पल्पसा क्याफे’ कोरोना महामारीका कारण प्रदर्शनमा आउन सकेको थिएन।
लेखक वाग्लेको मदन पुरस्कार प्राप्त पुस्तक ‘पल्पसा क्याफे’को नाट्य रुपान्तरण भने लेखक सुरज सुवेदीले गरेका छन्। नाटकलाई विमल सुवेदीले निर्देशन गरेका हुन् भने दीलिप रानाभाटले सहनिर्देशन गरेका हुन्।
नाटकमा दिपेश राई, सृष्टि श्रेष्ठसँगै विमल सुवेदी, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, चक्र पुलामीलगायतका कलाकारको अभिनय रहेको छ।
यसअघि अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भनिए पनि वैशाख ९ बाट मञ्चन हुने नाटकमा स्वस्तिमाको ठाउँमा अभिनेत्री सृष्टि श्रेष्ठले अभिनय गर्ने भएकी छिन्।
नाटक वैशाख ९ गतेदेखि २५ गतेसम्म प्रदर्शन हुनेछ। हरेक दिन साँझ ५ बजे नाटक थापागाउँ, बानेश्वरस्थित मण्डला थिएटरमा हेर्न सकिने निर्माण पक्षले जानकारी दिएको छ।