अनिल सुब्बा र अन्वेषण राई थुलुङ्गको परिकल्पना तथा निर्देशन रहने नाटक 'चोरको स्वर' मञ्चन हुने भएको छ।
यो नाटक थापागाँउस्थित मण्डला नाटकघरमा शुक्रबारबाट मञ्चन हुन लागेको हो। नाटकमा लिम्बू समुदायमा प्रचलित भागी विवाहको कथालाई देखाइने छ।
कुनै केटाले केटी भगाइसकेपछि केटा पक्षबाट 'हजुरहरुको छोरीचेली हाम्रो साथमा छ, हाम्रो छोरा भतिजले माया गरेर, खुसीसाथ राखेको छ' भनी केटा पक्षका भद्र भलाद्मीहरू विशेष रीतसहित जानकारी दिन आउने सांस्कृतिक प्रचलनलाई चोरको स्वर भनिन्छ। माइती पक्षले रीत अर्थात् चोरको स्वर स्वीकार गरिसकेपछि लिम्बू संस्कार, रीतिरिवाजअनुसार विवाहको प्रसंग अघि बढ्छ।
आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुति रहेको नाटकको कथा नविन चौहानले तयार पारेका हुन्।
नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर, बेदना राई, सुरज तमू, प्रतिना राई, रमिता राई, प्रयास बान्तवा राई, रेश्मा लिम्बू, सीता राई, नर्सिस लिङ्देन, दिवस पयाङ्गू, उदय लिम्बू, प्रवीन मगर, नुशा लिङ्देन, सुनिल तामाङलगायतका कलाकारको अभिनय रहनेछ।
नाटक जेठ २० गतेदेखि असार १५ गतेसम्म मञ्चन हुनेछ। हरेक दिन साँझ ५ बजे नाटक थापागाउँस्थित मण्डला थिएटरमा हेर्न सकिनेछ भने शनिबार १ बजे पनि हेर्न सकिनेछ।