काठमाडौंको किङ्स कलेजका विद्यार्थीले अभिनय गरेको नाटक ‘त्रयम्’ शिल्पी थिएटरमा मञ्चन भएको छ।
जेठ २० गतेदेखि २६ गतेसम्म प्रदर्शन भएको नाटकमा महिलाले आफूमाथि भएको थिचोमिचो र हिंसाविरूद्ध गरेको विद्रोहलाई देखाएको थियो। महिलाहरू परिवारका सदस्य तथा छिमेकका पुरूषबाट नै हिंसामा पर्ने गरेको घटनालाई नाटकमा उजागर गरिएको थियो।
दिलीप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटकमा कलेजका 'बिबिए इन अप्लाइड आर्टस् एन्ड डिजाइन' मा अध्ययनरत विद्यार्थीहरूले अभिनय गरेका थिए।
संस्कृत शब्द ‘त्रयम्’ले तीन भन्ने अर्थ दिन्छ। नाटकमा पनि तीन पात्रको कथा देखाइएको छ।
नाटकको नाम त्रयम् राख्नुको कारण बताउँदै निर्देशक रानाभाटले भने, ‘नाटकमा तीनवटा समयलाई देखाइएको छ- बिहान, बेलुका र साँझको। नाटकमार्फत विगत, वर्तमान र भविष्यको तीन चरणलाई रूपकका रूपमा देखाउन खोजेका हौं। हाम्रो बिहान सामान्य भए पनि साँझ पर्दै जाँदा विगतको कुराले हामीलाई झनै सताउँदै जान्छ।’
नाटकले पनि सुरूआतमा दर्शकलाई हँसाए पनि अन्तिमतिर दर्शकलाई भावुक र सोच्ने बनाएको थियो।
रानाभाटले यो नाटक सन् २०१८ तिरै लेखेका थिए। अहिलेको समयमा यो नाटक देखाउनुको कारण बताउँदै उनले भने, ‘यो नाटकमा मलाई पहिलेदेखि काम गर्न मन थियो। तर अहिले महिला हिंसाका विषयमा कुराहरू उठिरहेको समय भएकाले यसलाई देखाउने सही समय यही हो जस्तो लाग्यो।’
कलेजका प्रधानाध्यापक नरोत्तम अर्याल विद्यार्थीमा कलाप्रति अभिरूचि जगाउने प्रयासस्वरूप नाटक मञ्चन गरेको बताए। सोखका रूपमा लिइँदै आइएको कला क्षेत्रलाई व्यावसायिक दिशा दिन पनि कलेजले नाटक तयार पारेको उनले भने।
नाटकमा फुरल्हामु तामाङ, शैलेशा राना, रशिला मगर, अनिशा कुँवर, अनुकूल सुवेदी, आशिष कटुवाल, सुमित घिमिरे र रोनिशा सिंहको अभिनय थियो।